newskoseli.Com

नेइमारले ‘कोपा अमेरिका’ खेल्न नपाइने

बार्सिलोनाका ब्राजिली स्टार नेइमारले जुनमा अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन्। तर, अगस्टमा आफ्नै देशमा हुने रियो ओलम्पिकका लागि भने नेइमारलाई रिलिज गर्ने उनको क्लब बार्सिलोनाले बुधबार जनाएको छ।

नेइमारलाई अगस्ट ३ देखि २१ सम्म हुने रियो ओलम्पिकमा मात्र खेलाउने बार्सिलोनाको प्रस्ताव स्विकार गरेकोमा क्लब ब्राजिली फुटबल संघ र त्यसका अध्यक्ष मार्को पोलो डेल नेरोलाई धन्यवाद दिन चाहन्छ,’ क्लबले विज्ञप्तिमा भनेको छ, ‘अब नेइमारले जुन ३ देखि २६ सम्म अमेरिकामा हुने कोपा अमेरिका खेल्नुपर्ने छैन।

त्यसले क्लबलाई ठूलो राहत प्रदान गर्नेछ।’ ब्राजिली प्रशिक्षक डुंगाले आफ्ना कप्तान नेइमारलाई दुवै प्रतियोगिताका लागि चाहेका थिए। तर, बार्सिलोनाले अर्को सिजन सुरु हुनुभन्दा पहिला नेइमारलाई पर्याप्त आराम चाहिने भन्दै ब्राजिली फुटबल संघलाई ओलम्पिकमात्र खेलाउन प्रस्ताव गरेको थियो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार क्लबले आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय क्यालेन्डरमा समावेश खेलका लागि छोड्नुपर्छ। कोपा अमेरिका फिफाको क्यालेन्डरमा समावेश प्रतियोगिता हो। त्यसैले त्यो प्रतियोगिताका लागि ब्राजिलले चाहेमा बार्सिलोनाले उनलाई छोड्न बाध्य हुनुपर्छ।

तर, ओलम्पिक भने फिफाको क्यालेन्डर प्रतियोगिता होइन। त्यसैले ओलम्पिकका लागि क्लबले खेलाडी नछोड्न पनि पाउँछ। ब्राजिली प्रशिक्षक डुंगाले २३ वर्षमाथिका तीन खेलाडी राख्न पाउने नियमअनुसार समावेश गर्न योजना बनाएकामध्ये २४ वर्षे नेइमार एक हुन्। अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले अहिलेसम्म जित्न नसकेको एउटै प्रतियोगिता ओलम्पिक हो।

चार वर्षअघि लन्डनमा स्वर्ण पदकका लागि भएको फाइनलमा मेक्सिकोसँग पराजित हुँदा नेइमार टोलीका मुख्य सदस्य थिए। बार्सिलोनाको अग्रपंक्ति सम्हाल्ने तीनै सुपरस्टार दक्षिण अमेरिकी खेलाडी हुनुले टोलीको चिन्ता बढाएको छ।

नेइमार, लुइस स्वारेज र लियोनल मेसी तीनैजना ओलम्पिकसँगै कोपा अमेरिकाका लागि आ–आफ्नो राष्ट्रिय टोलीले सबैभन्दा बढी चाहने खेलाडी हुन्। नेइमारले नखेल्ने भए पनि कोपा अमेरिकामा फिटनेसले साथ दिए मेसीले अर्जेन्टिना तथा स्वारेजले उरुग्वेका लागि खेल्नेछन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर