newskoseli.Com

विश्वकप फुटबल : मेस्सी कि रोनाल्डो, कसको सम्भावना बलियो ?

फुटबल दुनियाँमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई हरेक पटक एक–अर्कासँग तुलना हुने गर्छ । यी दुई खेलाडीमा अधिकांश फुटबलप्रेमीको नजर अडिएको हुन्छ ।

यसै साता बिहीबारदेखि रसियामा फुटबलको कुम्भमेला फिफा विश्वकप– २०१८ सुरू हुँदैछ । यसमा सबैको ध्यान रोनाल्डो र मेस्सीमाथि हुने देखिँदै छ । यी दुई हस्तीले यसअघिको संस्करणमा गरेको प्रदर्शनको तुलना संसारभर गरिँदै छ ।

सन् २००६ र सन् २०१४ का दुई संस्करणलाई हेर्ने हो भने अर्जेन्टिनी कप्तान मेस्सी पोर्चुगिच कप्तान रोनाल्डोमाथि हावी देखिएका छन् । मेस्सीले सन् २००६ र २०१४ को विश्वकपमा खेलेका १५ खेलबाट ५ गोल गरेका छन् भने ३ वटा पास दिएका गोलले जाली चुमेका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको प्रदर्शन हेर्दा सन् २००६ र सन् २०१४ मा खेलेका १३ खेलबाट उनले ३ गोल गरेका छन् भने २ वटा पास दिएको गोलले जाली चुमेका छन् । अर्जेन्टिनाका स्टार मेस्सीका लागि सम्भवतः यो नै अन्तिम विश्वकप हुन सक्छ । त्यसैले उनी यसलाई खास अविस्मरणीय बनाउन चाहन्छन् ।

पछिल्लो समय फर्ममा रहेका मेस्सीले यो सिजन क्लब फुटबलमा ४७ गोल गरेका छन्, जसमा ३४ गोल ला(लिगामा मात्र गरेका छन् । ब्राजिलमा भएको पछिल्लो विश्वकपमा पनि मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलसम्म पुर्‍याएका थिए । उनले ७ खेलबाट ४ गोल गरेका थिए ।

अहिलेसम्म विश्वकपको उपाधि नजितेको पोर्चुगलका कप्तान रोनाल्डो ट्रफी भित्र्याउने महत्त्वकांक्षी योजनासाथ यो संस्करणमा रसिया पुगेका छन् । रोनाल्डो पनि सिजनको सुरुआतमा केही धर्मराए पनि पछिल्लो समय फर्ममा आएका छन् ।

यी दुवै खेलाडी आजको समयका उत्कृष्ट फुटबलर हुन् । रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा सबैको चासो मेस्सी र रोनाल्डोको प्रदर्शनमा केन्द्रित हुनेछ । समकालीन फुटबलमा उत्कृष्ट भए पनि दुवैले विश्वकपको ट्रफी उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन् । धेरैको अनुमान छ– दुवैका लागि रसिया विश्वकप एउटा राम्रो अवसर हुन सक्नेछ ।

मेस्सीबिना पनि अर्जेन्टिनाको टिम उत्कृष्ट रहेको छ । तर, उनी टिममा हुनु अर्जेन्टिनाका लागि थप बलियो पक्ष हो । सर्जियो अग्युरो,हिग्युइन,डि मारिया,पाब्लो डिबालाजस्ता प्रतिभाशाली खेलाडी अग्रपंक्तिमा हुँदा मेस्सीको भूमिका अझ फराकिलो बन्न सक्छ । उत्कृष्ट खेलाडीको तालमेल मिलाउन सही रणनीति बनाउनु नै अर्जेन्टिनाको मुख्य चुनौती हो ।

तालमेल मिलाउन र सही रणनीति बनाउन सके यो विश्वकप अर्जेन्टिनाका लागि ट्रफी उचाल्ने अवसर पनि हुन सक्ने छ त्यसमा पनि मेस्सीको जादु चल्नुपर्ने हुन्छ किनभने अरू जता, जे गरे पनि मेस्सीले आफ्नो देशका लागि ठूलो पदक दिलाउन सफल भएका छैनन् ।

रोनाल्डो भने देशका लागि युरो कप जिताएर फर्ममा छन् । तर, रोनाल्डोकै भरमा यूरो– २०१६ को फाइनलसम्म पुगेर आफूभन्दा धेरै बलियो फ्रान्सलाई हराई उपाधि जितेको पोर्चुगललाई विश्वकपमा पनि त्यस्तै सफलता पाउन धेरै गाह्रो पर्ने देखिँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर