newskoseli.Com

मेस्सी र अर्जेन्टिना : निराश तुल्याइदिए विश्वभरका समर्थकलाई…

 

विश्वकप फुटबलको बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको छ । यससँगै विश्वचर्चित अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको टिम विश्वकप– २०१८ को समूह चरणबाटै बाहिरिने ‘खतरा’ देखा परेको छ ।

बिहीबार अर्जेन्टिनालाई हराएका क्रोएसिया भने समूह– ‘डी’ बाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनी टिम हावी हुने अपेक्षा विश्वभरकै मेस्सी एवं अर्जेन्टिनी समर्थकहरुले गरे पनि गोलकिपर बिली क्याबलेरोको कमजोर भूमिकाका कारण त्यो अपेक्षा सार्थक हुन सकेन । अर्जेन्टिनी गोलकिपरकै गल्तीका कारण खेलको सुरुआतमा नै क्रोएसियाका एन्टे रेविकले गोल गरिदिए ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा भने मैदानमा मेस्सी ‘रनभुल्ल मुड’ मा यता–उता भौंतारिइरहेका देखिन्थे । ‘सब्स्टिच्युसन’ मा आएका गोन्जालो हिगुइन र डिबालाले समेत टिमलाई खेलको लयमा फर्काउन सकेनन् । मेज्जाको प्रहारबाट ‘रिबाउन्स’ भएको बललाई गोलमा परिणत गर्ने अवसर मेस्सी पाए पनि विपक्षी गोलरक्षकले असफल तुल्याइदिए ।

‘सेकेण्ड–हाफ’ मा केही ‘डिफेन्सिभ’ देखिएको क्रोएसियाले त्यसपछि पनि आइपरेको मौका चुकाएन र ८०औं मिनेटमा लुका मोडरिकले गोल गरे । यसै पनि क्रोएसियाले जित त सुनिश्चित गरिसकेकै थियो तैपनि ‘इन्जुरी टाइम’ मा फेरि इभान राकिटिकले गोल थपेर बिहीबारको साँझ अर्जेन्टिनाका लागि अझ दुःखद तुल्याइदिए ।

विश्वकप– २०१८ को विजयी यात्रा अब अर्जेन्टिनाको आफ्नै हातमा मात्र सीमित रहेन । यसअघि आइसल्याण्डसँग १(१ को बराबरी खेलेको अर्जेन्टिनासँग १ अंक मात्र छ । अर्जेन्टिनाले अब नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर