newskoseli.Com

म्याराडोनाले भने– अन्तिम खेलअघि अर्जेन्टिनी टिमलाई भेट्न चाहन्छु…

 

म्यारोडोनाले रूस विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन् । नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नुअघि अर्जेन्टिनाका खेलाडीलाई आफूले भेट्न चाहेको उनले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन–प्रशारण भएका छन् ।

अर्जेन्टिनाले मंगलबार नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा आइसल्याण्डसँग अंक बाँडेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३–० को हार व्यहोरेको थियो । २ खेलबाट १ अंक भएको अर्जेन्टिनाका लागि अन्तिम १६ मा पुग्न नाइजेरियालाई हराउनैपर्छ ।

टिमको पछिल्लो प्रदर्शनबाट तनावमा देखिएका म्याराडोनाले अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापिएको आलोचना गर्दै आक्रोश पोखेका छन् । विश्वकपको दोस्रो खेलमा क्रोएसियासँगको हारपछि अर्जेन्टिनी फुटबलले महँगो मूल्य चुकाउनुपर्ने अवस्था आएको भन्दै उनले अब अर्जेन्टिनी फुटबलका लागि खराब समय आएको दाबी गरेका छन् ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका म्याराडोनाले गोल्डेन बल समेत जितेका थिए । भेनेजुएलाको एक टेलिभिजन ‘तेलेसुर’ सँगको अन्तर्वार्ताका क्रममा म्याराडोनाले आफू प्रशिक्षक जर्ज साम्पाओलीको टिमका खेलाडीलाई भेट्न इच्छुक रहेको बताएका हुन् ।

आफूहरू सम्मान बचाउने अभियानमा रहेको उनले बताए । देशको प्रदर्शनबाट आफू निकै उदास र निराश भएको भन्दै उनले भने– ‘अर्जेन्टिनाको जर्सी लगाएको कोही पनि क्रोएसियाबाट त्यसरी पराजित भएको देख्न सक्ने अवस्थामा हुँदैन । त्यो हार जर्मनी, ब्राजिल, नेदरल्याण्डस वा स्पेनबाट थिएन ।’

आफ्नो साथमा आफ्ना पुराना साथी खेलाडीलाई पनि लैजान चाहेको भन्दै उनले सबै दोष अर्जेन्टिनी फुटबल एसोशिएसनलाई दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर