newskoseli.Com

फ्रान्ससँग पराजित हुँदै विश्वकपबाटै बाहिरियो अर्जेन्टिना, तुहियो मेस्सीको सपना…

 

फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना प्रि–क्वार्टरफाइनलबाटै विश्वकप फुटबलबाट बाहिरिएको छ । विश्वकप फुटबल– २०१८ अन्तर्गतको पहिलो प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना बाहिरिएको हो । यस खेलमा भोग्नुपरेको पराजयसँगै अर्जेन्टिनालाई विश्वकप दिलाउने लियोनल मेस्सीको वाचा यस पटकका लागि तुहिन पुगेको छ ।

शनिबार साँझ भएको खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका एन्जल डी मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । खेलको ४१औं मिनेटमा उनले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले भने २ गोल मात्रै गर्न सक्यो । खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्‍याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्‍याएका थिए । त्यसको ७ मिनेटपछि नै अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो । यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका थिए । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको थियो ।

खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै ४–३ गोलको अवस्थामा पुर्‍याए पनि फ्रान्सलाई रोक्न भने सकेन । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर