
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट राजनीतिक यात्रा अघि बढाउँदै हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नेता रहेका चिरन पुन तथा सिंगै माओवादी आन्दोलनमा चर्चित जनवादी गायिकाको परिचय बनाएकी र अन्तिम समयसम्म पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै नेकपा (माओवादी केन्द्र) मा क्रियाशील रहेकी निर्मला घिसिङबीच यतिबेला गज्जबको ‘सांगीतिक सहयात्रा’ देखापरेको छ ।
उनै पुनको शब्द–संगीत र निर्मला घिसिङको आवाजमा ‘विदेशी गल्लीमा’ शीर्षक भिडियोसहितको नयाँ जनवादी गीत हालै मात्र सार्वजनिक भएको छ । कलिलो उमेरदेखि नै घरपरिवार समेत त्याग्दै जनवादी गीत–संगीतलाई माध्यम बनाएर क्रान्तिको यात्रा तय गरेकी गायिका निर्मला घिसिङको स्वरलहरीले सजिएको यस गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् ।
प्यारो मातृभूमि नेपाल छाडेर वैदेशिक रोजगारीको सिलसिलामा पराइभूमि पुगेका नेपाली युवाहरुको भावना समेटेर यो गीत तयार भएको गायिका घिसिङ बताउँछिन् । मकवानपुरको फापरबारीमा जन्मेकी निर्मलाले एक हातमा राइफल र अर्को हातमा गितार–मादल बोकेर अघि बढ्ने क्रममा कयौं पटक निकै नजिकबाट मृत्युलाई नियाल्दै आएकी छन् ।
दसवर्षे जनयुद्धकै बीचमा निर्मलाले ‘तिमी झन् आगो बन्नू’, ‘काँडाहरुको बीचमा हाँसेर फुल्छन् फूल’, ‘पर्खी बसें फेरि भेट होला भनेर, आयो खबर वीरगति पायो भनेर’ जस्ता निकै मार्मिक सयौं क्रान्तिकारी गीतहरु गाएकी छन् । एक दशकभन्दा लामो समयदेखि जनवादी गीत–संगीतलाई निरन्तरता दिँदै आएकी निर्मलाले पछिल्लो समय ‘व्यावसायिक’ रुपमा समेत सफल केही गीतहरु गाइसकेकी छन् ।
‘होई च्याङ्बा, होई च्याङबा’, ‘कसले बनायो दाजै उडी जाने बस’,‘अँधेरी छरेर जीवन, आशा छरी उदाउँछ’, ‘दिलमा यस्तो चोट दिएर गयो’, ‘सिरिरिरी हावा चल्यो’, ‘सैलुङ्गे च्याङबा’ लगायतका गीतहरुका साथसाथै आफ्नै मातृभाषा (तामाङ भाषा) मा पनि ‘आमाला ङा जामे’,‘पक्काङ पेक्केङ तिला ताबा’, ‘डम्फूमी ह्राप्सी’ लगायतका दर्जनौं गीत गाएर उनले नेपाली गीत–संगीतको भण्डार उकास्दै आइरहेकी छन् ।
पूरा गीत हेर्नोस् तलको भिडियोमा–