newskoseli.Com

ऊर्जामा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

 

नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदान–प्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा दुई देशबीच शुक्रबार हस्ताक्षर भयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले द्विपक्षक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । लामो समयदेखि नै बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेका बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्र अनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ । सरकार–सरकार र निजीस्तरमा लगानीका लागि समेत बंगलादेश सहमत भएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले जानकारी दिएका छन् ।

‘नेपालको ऊर्जा र जलस्रोतका क्षेत्रमा सहकार्यका लागि एउटा महत्त्वपूर्ण अवसर आएको छ, त्यसको लागि हामीले मार्गप्रशस्त गरेका छौं,’ मन्त्री पुनले भने– ‘आज सोही सिलसिलामा महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।’ समझदारीपत्र अनुसार बंगलादेश सरकार तत्काल नै नेपालबाट ५ सय मेगावाट विद्युत् खरिदका लागि समेत तयार भएको जानकारी उनले दिए ।

यसअघि नै बंगलादेश भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव )जीएमआर) ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिद गर्न तयार भएको थियो । शुक्रबारको सहमतिपछि त्यसका निम्ति थप मार्गप्रशस्त भएको छ ।

दुवै देशमा संयुक्त लगानी गर्ने, बंगलादेशले नेपालको विद्युत् खरिद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्ने लगायतका विषय समझदारीपत्रमा समेटिएका छन् । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफलका क्रममा महत्त्वपूर्ण सहमति भएको मन्त्री पुनको भनाइ छ ।

बंगलादेशले नेपालबाट करिव ५ हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । भारत र चीनसँग ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । बंगलादेशसँग भएको यो तेस्रो सम्झौता हो । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले बंगलादेशी जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ आफ्नो देशले ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको बताए । नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले दुई देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने जानकारी दिँदै शुक्रबारको समझदारीपत्र ऐतिहासिक महत्त्वको रहेको उनले उल्लेख गरे ।

आफ्नो देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोनन्ति गर्ने लक्ष्य राखेको जानकारी दिँदै त्यसका लागि करिव ६० हजार मेगावाट विद्युत् जरुरी रहेको र त्यस निम्ति नेपाल मात्रै उपयुक्त विकल्प रहेको बताउँदै हमिदले भने– ‘सन् २०२१ सम्म नै हामीलाई २४ हजार मेगावाट विद्युत् जरुरी छ, हाल बंगलादेशको आर्थिक वृद्धिदर ७ दशमलब २ प्रतिशत छ र त्यसलाई आगामी वर्षमा १० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।’

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय, सहसचिव दिनेशकुमार घिमिरेलगायका उच्च अधिकारीहरु पनि सहभागी थिए । त्यसैगरी, बंगलादेशका तर्फबाट राज्यमन्त्री हमिद, नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे साम्सलगायतका उच्च अधिकारी सहभागी थिए ।

भारतसँग दुई देशले संयुक्त छलफल गर्ने

समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पुन र बंगलादेशका राज्यमन्त्री हमिदले प्रशारण लाइनलगायतका विषयमा भारत सरकारसँग संयुक्त रुपमा छलफल गरिने जानकारी दिए ।

भदौ १४ र १५ मा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा संयुक्त छलफल गर्ने सहमति भएको उनीहरुको भनाइ छ ।

भारतसँग यसअघि नै विद्युत् व्यापार सम्झौता (पीटीए) भइसकेको छ । बंगलादेशमा विद्युत् लैजानका लागि भारतको समेत सहमति जरुरी छ । यद्यपि काठमाडौंमा सम्पन्न १८औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका क्रममा विद्युत् आदान–प्रदान तथा सहजीकरणका लागि सार्कस्तरीय ग्रीड स्थापना गर्ने विषयमा सहमति भएको छ । सोही आधारमा समेत नेपालको विद्युत् बंगलादेश निर्यातका लागि सहज हुने विश्वास लिइएको जानकारी मन्त्री पुनले दिए ।

२०७४ चैत २१ मा थाइल्याण्डको राजधानी बैंककमा आयोजित दोस्रो एशिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमका अवसरमा पनि दुई मन्त्रीबीच ऊर्जा विकासमा सहकार्य गर्नेबारे छलफल भएको थियो । सो अवसरमा नै राज्यमन्त्री हमिदले नेपालको विद्युत् लैजान भारतको बाटो चाहिने हुँदा यसबारे बंगलादेशले आवश्यक पहल गर्ने प्रतिबद्धता मन्त्री पुनसमक्ष व्यक्त गरेका थिए । सबै तस्बिर : प्रदीपराज वन्त/रासस 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर