newskoseli.Com

सिजापतिले जिते शारीरिक सुगठनको उपाधि (फोटोफिचरसहित)

१५औं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दा माथिको समूहबाट प्रतिस्पर्धा गरेका सिजापति उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउन्डमा सिजापतिले ६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले ५ लाख रुपैयाँ नगद समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा महेश महर्जन द्वितीय, रामबहादुर दाहाल तृतीय, प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौं, आशिष देवाजु छैटौं र सुरेश खत्री सातौं भए । उनीहरुले क्रमशः २ लाख, १ लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार नगद प्राप्त गरे । ५५, ६०, ६५, ७०, ७५ र ८० केजीमाथिका समूह विजेतालाई अन्तिममा प्रतिस्पर्धा गराई विजेता–उपविजेता छनोट गरिएको हो ।

समूह विजेताले ३० हजार, उपविजेताले २५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानलगायतले पदक तथा नगद पुरस्कार प्रदान गरे ।

शुक्रबार भएको प्रिजजिङ राउन्डको ५५ केजी तौल समूहबाट भक्तपुरका कृष्णदास दिवाकर, गोकर्णका सुजन गुरुङ, बुटवलका अनिल आले, बालाजुका आवाज प्याकुरेल, डेभिड बलामी र सरेश खत्री फाइनल चरणमा प्रवेश गरे । ६० केजी तौल समूहबाट गौरव श्रेष्ठ, यदु विश्वकर्मा, शैलेन्द्र शर्मा, सुजन तामाङ, मानबहादुर चौधरी र आशिष डेबाजु छनोट भए ।

६५ केजी तौल समूहबाट नेपालगञ्जका श्रीतोष चापाली, रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल र रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ फाइनल चरणका लागि छनोट थिए ।

७५ केजी तौल समूहबाट झापाका ललित धिमाल, अशोक महर्जन, प्रवेश श्रेष्ठ, नवीन राना, सुरेश खड्का र प्रवेश केसी तथा ८० केजी तौल समूहबाट सर्खेतका विष्णु विश्वकर्मा, उज्ज्वल बज्राचार्य, महेश्वर मर्हजन, प्रविन शाही, विशाल कँडेल र यमन लामा फाइनल चरणको यात्रा तय गर्न सफल भएका छन् । प्रतियोगितामा देशभरिबाट ४ सय खेलाडी सहभागी रहेको जानकारी नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले दिए ।

धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १५औं संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । सहिद धर्मभक्त माथेमाको सम्झनामा हरेक २–२ वर्षमा आयोजना हुँदै आइरहेको यो प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु रहेको प्रधानले बताए ।

शिवलाल श्रेष्ठलाई दीर्घसेवा पदक

सोही अवसरमा शारीरिक सुगठनका पूर्वखेलाडी शिवलाल श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गरियो । श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले ५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरे । शारीरिक खेलको विकास र विस्तारमा श्रेष्ठले पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको राससले जनाएको छ । सबै तस्बिरः प्रदीपराज वन्त

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर