
आर्इसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १ सय ४० रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै १८ रन बनायो ।
वर्षाका कारण खेल रोकिएपछि डीएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।
थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले १ दशमलव ५ ओभरमा २ रन खर्चेर ३ विकेट लिए । ललितनारायण राजवंशीले १ विकेट लिए । यो जितसँगै नेपाल ३ खेलमा विजयी भएर ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।
यु– १८ महिला च्याम्पियनसिप : नेपालले बङ्गलादेशसँग फाइनलमा भिड्दै
भुटानमा जारी साफ यु– १८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आइतबार नेपाल र बङ्गलादेश भिड्दैछन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा फाइनल खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
सेमीफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’ मा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो भने भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा पुगेको हो । समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।
नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मिकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।
हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।