newskoseli.Com

जाट–नेपालकाे पर्यटन पत्रकार गाँउ र ‘जे’ टू ‘जे’ कार्यक्रम

पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ हरेक वर्ष एउटा गाउँलाई प्रबर्धन गर्ने योजना सार्वजनिक गरेको छ ।
पर्यटन पत्रकारहरुको विशेष भेलाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल भित्रकै कुनै एक पर्यटकीय गाउँलाई एक वर्ष भरि ‘पर्यटन पत्रकार गाउँ’को रुपमा प्रचारप्रसार गरि बजारसम्म पुर्याउने योजना सार्वजनिक गरेको हो । योजना अनुरुप हरेक वर्ष फरक गाउँको प्रबद्र्धन गर्ने लक्ष्य रहेको जाट–नेपालका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले बताए । उनले घुमफिर वर्षका लागि कुन गाउँ प्रबर्धन गर्ने भन्ने सम्बन्धमा निर्णय भइनसकेको र पर्यटकीय गाउँको खोजी गरिरहेको जानकारी दिए । यसक लागि पर्यटकीय गाउँका तर्फबाट प्रस्ताव ल्याउन समेत उनले सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘पर्यटन पत्रकार गाउँ’का सम्बन्धमा आन्तरिक तयारी भइरहेको पनि उनको भनाइ छ ।
यसैगरि, विशेष भेला गरि घुमफिर वर्ष २०७३ का लागि सहयोग पुर्याउने रणनीतिक योजना समेत तय गरेको छ । नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले अगाडि बढाएको घुमफिर वर्षलाई अझै भव्यताका साथ सम्पन्न गराउन पत्रकारले खेल्नु पर्ने भूमिकाका सम्बन्धमा रणनीतिक योजना तय गरेको हो । यस सम्बन्धमा पर्यटन बोर्डसँग छिट्टै छलफल गरि सुझाब दिने जाट–नेपालका अध्यक्ष देवी पन्तले बताए ।उक्त भेलाले जाट नेपालले देशका गन्तव्यहरुको प्रबर्धन गर्ने उदेश्यसहित अगाडि बढाएको ‘जे’ टू ‘जे’ सम्मेलनलाई नेपाल सरकारसँगको सहकार्यमा तार्किक निष्कर्षमा पुर्याउन गृहकार्य गरिरहेको महासचिव मदन ढुंगानाले बताए । यसैगरि, संघले ‘सात प्रदेश–सात सञ्जाल’को अवधारणा समेत ल्याएको छ । जसलाई पहिलो चरणमा पर्यटकीय गन्तव्यहरुको आधारमा शाखा विस्तार गर्ने योजना रहेको द्वितीय उपाध्यक्ष शेखर अधिकारले बताए ।
जाट–नेपालले वर्षभरि संचालन गर्ने कार्यक्रमका लागि वार्षिक क्यालेण्डर तयार पार्ने र सोहिअनुरुप कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ । संघको साधारण सभा छिट्टै सम्पन्न गर्ने निर्णय लिएको संघले पर्यटन क्षेत्रका विषयवस्तुलाई थप उजागर गराउने गरि स्मारिका प्रकाशनमा ल्याउने भएको छ । पर्यटन क्षेत्रमा विगत लामो समयदेखि योगदान गर्दै आउनुभएका विज्ञहरुलाई समेटेर एक सल्लाहकार समिति गठन गर्ने निर्णय पनि उक्त भेलाले गरेको सचिव हरिशरण न्यौपानेले बताए ।
२१ नयाँ सदस्य थपिए
टेलिभिजन, राष्ट्रिय दैनिक, रेडियो, अनलाईन, साप्ताहिक, पाक्षिक, मासिक, प्रोडक्सन हाउस सहित आमसंचार माध्यममा सक्रियरुपमा कार्यरत २१ पत्रकारहरुले जाट नेपालको नयाँ सदस्यता लिएका छन् ।
पर्यटन क्षेत्रको प्रबर्धनमा पत्रकारहरु संगठित भएर अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याउँदै पर्यटन पत्रकारहरु जाट नेपालमा आबद्ध भएका हुन् । कार्यक्रमका अवसरमा संघले नयाँ सदस्यहरुलाई टिका, खादासहित संस्थाको लोगो अंकित ज्याकेट र टिसर्टसमेत प्रदान गरेको थियो ।
कार्यक्रममा नयाँ सदस्यहरुलाई शुभकामना प्रदान गर्दै संघका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रबर्धनका निम्ति जाट–नेपालले आक्रामक ढंगबाट प्रचारात्मक क्रियाकलाप अगाडि बढाउने बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर