
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई वटा खेल हुँदैछन् ।
सातदोबाटो, ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्यो । खेल बिहान ११ः३० बजे सुरु भएको हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
खेल हुनुअघि आइतबार बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’ मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्य रूपमा नलिने बताए । ‘हामीले भर्खरै नवलपरासीमा राइनो कप खेलेर आएका छौं, उक्त प्रतियोगितामा आफ्नो कमी–कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौं ।’
दसैं–तिहारपछि मात्रै अभ्यास सुरु गरेकाले सोचे अनुसारको तयारी हुन नपाएको मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले बताए ।
आइतबारै हुने दोस्रो खेलमा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेडब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो ।
थ्रीस्टारका लागि आइतबार निकै खुशीको दिन छ किनभने क्लबका मिडफिल्डर विक्रम लामा यसै खेलबाट मैदान फर्कंदैछन् । चोटका कारण करिव ८ महिना मैदानबाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् ।
लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेरसमूहका खेलाडी आबद्व ब्रिगेडले चुनौती दिने ब्रिगेडब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिए ।
थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडी समावेश छन् । तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले बताए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक २०७१ मा ‘ए’ डिभिजन लिग भएको राससले जनाएको छ ।