newskoseli.Com

‘जयनेपाल’ क्रिकेटको उपाधि, जित्यो ‘लालसलाम’ ले !

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित ‘जयनेपाल’ खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको ‘लालसलाम’ टोलीले जितेको छ ।

बिहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै ‘लालसलाम’ टोलीले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको ‘लालसलाम’ ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८५ रनको विशाल स्कोर खडा गरेको थियो ।

‘लालसलाम’ टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले ३ र किरण ठगुन्नाले २ विकेट लिएका थिए । १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलव १ ओभरमा ९५ रनमै समेटियो ।

सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनु बाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ‘लालसलाम’ टोलीका तर्फबाट करण डडालले ३ विकेट लिए । ‘लालसलाम’ टोलीका गौतम धामी खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने रवि विष्ट ‘म्यान अफ द सिरिज’ घोषित भए । त्यसैगरी, बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भए ।

आयोजक अपी चौलानी सिर्जनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले दएिको जानकारी अनुसार जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगितामा प्रथम भएको टोलीलाई नगद १ लाख १ हजार १ सय ११, द्वितीयलाई नगद ६१ हजार १ सय ११ रुपैयाँ तथा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

हरेक खेलका ‘म्यान अफ द म्याच’लाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका ४ गरी कूल १३ टोली सहभागी भए । दार्चुलामा नेपाली काङ्ग्रेसले जितेका व्यास, दुहुँ र मालिकार्जुन गाउँपालिका तथा महाकाली र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक ‘जयनेपाल’ क्रिकेट प्रतियोगिता आयोजना भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर