newskoseli.Com

‘प्लानिङ ब्वाइज’ ले जित्यो ‘प्रकाश स्मृति कप’

प्रथम प्रकाश स्मृति कप– २०७५ को उपाधि ‘प्लानिङ ब्वाइज’ ले जितेको छ ।

हजारौं दोलखाली दर्शकमाझ शनिबार भएको फाइनलमा आयोजक दोलखालाई २–१ ले पराजित गर्दै ‘प्लानिङ ब्वाइज’ ले उपाधि उचालेको हो ।

निकै रोमाञ्चक खेल सुरुआतको करिव ४ मिनेटमै ‘प्लानिङ ब्वाइज’ का लागि विदेशी खेलाडी काशीले गोल गरेर आयोजकलाई दबाब दिए । १७औं मिनेटमा पिटर सेगुनले अर्को गोल गरेपछि दोलखाका हिमाल श्रेष्ठले ३६औं मिनेटमा १ गोल फर्काए । त्यसपछि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हजारौं स्थानीयवासी उपस्थित घरेलु मैदानमै पराजित भएर दोलखा उपविजेतामा सीमित बन्न पुग्यो ।

विजेता प्लानिङ ब्वाइजलाई खानेपानी मन्त्री बिना मगरले २ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिन् । दिवंगत प्रकाश दाहालकी पत्नी समेत रहेकी मन्त्री मगर कार्यक्रम समापन समारोहको प्रमुख अतिथि थिइन् ।

उपविजेता दोलखाले १ लाख २५ हजार रुपैयाँ, सेमिफाइनसम्म पुगेका दीपशिखा क्लब नैकाप र एपीएफले ३०–३० हजार रुपैयाँ नगद र शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रथम ‘प्रकाश स्मृति कप’ प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्ट्राइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनही १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट किपरमा ‘प्लानिङ ब्वाइज’ का विष्णु केसी, बेस्ट डिफेन्डर दोलखाका विवेक बुढाथोकी, बेस्ट स्ट्राइकरमा दोलखाकै हिमाल श्रेष्ठ, म्यान अफ दि टुर्नामेन्टमा दोलखाकै सुजन श्रेष्ठ र दीपशिखा युवा क्लब नैकापका दावा शेर्पा हाई स्कोरर घोेषित भए । प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरेको जानकारी खेल संयोजक मिनकुमार शिवाकोटी र सहसंयोजक विजय चौलागाईंले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर