newskoseli.Com

माटोबिनै तरकारी खेती गर्ने प्रविधि नेपालमै सुरु

खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नोस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ । बगर होस् या घरको छत, यो तरिकाबाट जहाँ पनि प्रशस्त खेती गर्न सकिन्छ ।

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन् । यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन् । माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ ।

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । त्यहाँ उनले १० वर्ष बिताए । होटल म्यानेजमेन्ट पढेका उनले पाँचतारे होटलमा काम गरेका थिए । त्यहीं उनले माटोविहीन तरकारी खेती देखे ।

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे । र, काममा लागे । यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ । यसलाई कोकोपिट भनिन्छ । जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ । सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ । जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो । गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्त्व पुर्‍याइन्छ । पोषक तत्त्वले बाली फस्टाउँछ र फल दिन्छ ।

यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ । विषादी पनि हालिँदैन । ‘बाहिरको हावापानी आवश्यक हुँदैन । गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’– पौडेलले भने । यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन ।

अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ । श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन् । कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए । ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने– ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ ।’

सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ । बुटवल मण्डपमा जस्तै उनले विष्णुपुरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराइरहेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर