newskoseli.Com

‘ए’ डिभिजन लिग– यस्तो छ अन्तिम खेलतालिका : क–कसले, कति–कति लाख पुरस्कार पाउँदै ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाद्वारा शुक्रबार सार्वजनिक खेलतालिका अनुसार अन्तिम चरणका खेल पुस २१, २२, २३ र २४ मा सञ्चालन हुनेछन् ।

अन्तिम चरणका खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछन् । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुनेछ ।

पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब तथा सङ्कटा र एपीएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा हुनेछन् ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्री–स्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछन् । सोही दिन लिगको समापन समारोह हुनेछ ।

लिगको १२औं चरणका खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउने छन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौं टोलीले ७ लाख र छैटौंले ५ लाख रुपैयाँ पाउने छन् भने फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ दिने खबर राससले सम्प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर