newskoseli.Com

२ करोडले हेरे ‘सालको पात’ : तपाईंले हेर्नु भो त ? (भिडियोसहित)

नेपाली लोकसंगीतको क्षेत्रमा एउटा गतिले कीर्तिमान कायम भएको छ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ गीतको ‘म्युजिक भिडियो’ युट्युबमा २ करोड पटक हेरिएको छ ।

युट्युब च्यानलबाट असोजमा सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर ४ महिना नपुग्दै २ करोडभन्दा बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द र वसन्त थापाको सङ्गीतमा तयार भएको यो गीत कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरलहरीले सजिएको छ । यिनै ४ सर्जकले २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित भएको थियो ।

यस गीतको लोकप्रियता युट्युब बाहिर पनि उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्षलार्इ स्रोताले निकै रुचाएका छन् । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर नै यस गीतको विशेषता हो ।

‘उत्साहित छौं, राम्रो प्रतिक्रिया आएको छ,’– गायक विश्वकर्माले भने– ‘गीत राम्रै बन्यो भन्ने त लागेको थियो तर यति धेरै चर्चा पाउला भनेर चाहिँ सोचेको थिइँन ।’ उनले भने– ‘शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकाले दर्शक–स्रोताको मन जितेको छ’– विश्वकर्माले भने ।

भिडियोमा अभिनेतृ मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका हुन् । ‘छोटो अवधिमै गीत करोड क्लबमा प्रवेश गर्‍यो,’ सङ्गीतकार थापाले भने– ‘नेपाली लोकसङ्गीतका लागि यो सुखद् खबर हो, नेपाली दर्शक–स्रोतको मायाले हामी उत्साहित बनेका छौं ।’

अमेरिकामा रहेका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव नै गीतको रचनागर्भ हो । ‘यस गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसै भोगाइको कथा छ,’ पन्तले भने– ‘सबैले शब्दलाई रुचाउनुभएको छ, खुशी छु ।’ आफू बेलायतमा रहेका बेला सङ्गीतकार थापाले नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी हुनी’ लेखेका थिए । ‘कम्पनीमा काम गर्दै थिएँ, एक्कासि गीत फुर्‍यो,’ पन्तले भने– ‘कागजको चिर्कटोमा शब्द उतारें ।’

डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । १ लाख ‘सब्स्क्राइबर’ पुगेपछि उक्त च्यानलले ‘अर्वाड’ समेत पाएको छ । ‘युट्युबबाट च्यानल भेरिफाइड पनि भएको छ,’ सङ्गीतकार थापाले भने– ‘युट्युबको व्यावसायिक प्रक्रियामा छिरेका छौं ।’

लौ हेर्नोस् यस्तो छ २ करोडले हेरिसकेको भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर