newskoseli.Com

एपीएफले जित्यो महिला भलिबलको उपाधि

दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

शनिबार न्यु डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपीएफ ३–१ ले विजयी बनेको हो । फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यु डायमण्डलाई जिताउन सकिनन् । उपाधि भीडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन सेटमा जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो । एपीएफकी सरस्वती चौधरीले ३१ अङ्क जोडिन् ।

घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट सुरुआत गरेको थियो । तर, खेलमा एपीएफले उत्कृष्ट पुनरागमन गर्‍यो । दोस्रो सेट २५–२१ ले जितेको एपीएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो । उपाधिसँगै एपीएफले ३ लाख १ हजार रूपैयाँ प्राप्त गर्‍यो । उपविजेता न्यु डायमण्डले २ लाख १ हजार रूपैयाँमा चित्त बुझायो ।

लिग कम नकआउटका आधारमा गरिएको प्रतियोगितामा ८ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टोली पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । तेस्रो भएको पुलिसले १ लाख रूपैयाँ तथा चौथो भएको टप्स माविले ५० हजार रूपैयाँ प्राप्त गरे ।

विधागतरुपमा उत्कृष्ट खेलाडीमा भने न्यु डायमण्डले वर्चश्व कायम गरेको छ । न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, झरना श्रेष्ठले उत्कृष्ट सरभर, अनिसा सुनुवारले उत्कृष्ट सेटर, ललिता नाथले उत्कृष्ट क्वीकर, सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्डर, एपीएफकी उसा विष्टले उत्कृष्ट ब्लकर र उत्कृष्ट प्रशिक्षकमा एपीएफकै ज्ञानेन्द्र विष्ट घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न एपीएफकै सरस्वती चौधरी सफल भइन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले १५ हजार रूपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ हजार रूपैयाँ प्राप्त गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर