newskoseli.Com

दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा काठमाडौंमा

फागुन ९–१३ मा काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान) ले बिहीबार पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ ।

महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि ६ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन्, बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछन् । कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाइएका दुई वटा छोटा चलचित्र पनि देखाइने बताइएको छ ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रजगतका ख्याति प्राप्त चलचित्रविद् सम्मिलित निर्णयक मण्डलबाट मूल्याङ्कन गराई पुरस्कार प्रदान गर्ने तयारी छ । सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र १ हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई ५ सय डलर र ट्रफीसहित माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ ।

नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्रलाई ५० हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट भएको छोटो चलचित्रलाई २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तर्राष्ट्रिय चलचित्र देखाइने छ । नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र महोत्सवमा समावेश हुने भएका छन् ।

महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियजगतमा चिनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ले प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले बताए । भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिन चलचित्र निर्देशक यादव खरेलले आग्रह गरे ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए । पहिलो पटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर