newskoseli.Com

नेपालले जित्यो टी– २० सिरिज : कायम भयो नयाँ इतिहास !

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी– २० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले नयाँ इतिहास कायम गरेको छ । यूएईविरुद्धको आइतबारको अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

दुबईस्थित आर्इसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो ।

१ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा यूएर्इले १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । यूएर्इलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले २–२ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए । ब्याटिङतर्फ यूएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहम्मद बोताले १० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ यूएईका मोहम्मद नाभिद र सुल्तान अहमदले २–२ तथा अमीर हयात, जोहर खान र मोहम्मद बोताले १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । यसअघि नेपालले यूएईविरुद्धको एकदिवसीय सिरिज पनि २–१ ले जित्दै इतिहास बनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर