newskoseli.Com

आईसीसी महिला विश्वकप क्वालिफायर : नेपालको विजयी सुरुआत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १ सय २७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दुरी सिङ्घमले समान २१–२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपालकी करुना भण्डारी र सरिता मगरले समान २–२ विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान १–१ विकेट लिए । यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । नेपालका लागि सुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन् ।

मलेशियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले १–१ विकेट लिए । जितसँगै नेपालले १ खेलबाट २ अङ्क जोडेको छ । नेपालले दोस्रो खेल फागुन ९ मा थाइल्याण्डसँग, फागुन १० मा संयुक्त अरब इमिरेट्स (यूएई) सँग, फागुन १२ मा हङकङसँग, १३ मा चीनसँग र १५ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोबिनका आधारमा हुने छनोटको विजेता टोली आईसीसी महिला टी– २० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । एशिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर