newskoseli.Com

नेपालको स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी : १ किलो ३ सय ग्राम तौल, लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै

सन् १९५७ मा सोभियत संघले पहिलो पटक सफलतापूर्वक अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउँदै छ ।

जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटेलाइट– १’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटेलाइटले अन्तरिक्षबाट पठाएका तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपदसम्बन्धी पूर्वजानकारी पाइनेछ ।

प्रक्षेपण गर्ने अमेरिकी कम्पनी

जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले करिव डेढ वर्ष लगाएर ‘नानो स्याटेलाइट’ तयार पारेका हुन् । एक किलो तीन सय ग्राम तौल रहेको स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठका अनुसार यसलाई बनाउन नेपाल सरकारले १ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज, २०७४ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भूउपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।

नेपाल, श्रीलंका र भुटानका गरी तीन वटा भूउपग्रहको प्रक्षेपण अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले एकै पटक गर्ने भएको छ । सो कम्पनीसँग प्रक्षेपणका लागि सम्झौता भई स्याटेलाइट समेत हस्तान्तरण भैसकेको उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार सो कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ ।

अन्तरिक्षमा पुगेपछि एक महिनाको अवधिसम्म इन्टरनेसनल स्पेस स्टेसनमा स्याटेलाइटको पुनः परीक्षण हुनेछ । त्यसपछि मात्रै स्पेस स्टेसनबाट तिनलाई पृथ्वीको कक्षमा छाडिनेछ । र, तिनले तथ्यांक पठाउन सुरु गर्ने खबर प्रकाश धौलाकोटीको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर