
‘अघिपछि त त्यस्तै हो, शिवरात्रिमा चाहिँ छिटफुट भए पनि पानी आउँछ–आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुम्मिन्छ’– हिउँदयामको आखिरी समय, महाशिवरात्रि पर्व नजिकिँदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।
यस पटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्ष मात्रै होइन, विगतका वर्षमा पनि शिवरात्रि अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुम्मिएका उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतारचढाव संयोग हो या नियमित मौसमी प्रक्रिया हो, यस प्रश्नमा संस्कृतिविद् र मौसमविदका आ–आफ्नै तर्क छन् ।
‘शिवरात्रिमा अपवाद बाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुने गर्छ,’ संस्कृतिविद् डा. माधव भट्टराई भन्छन्– ‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरु माघेसंक्रान्ति, वसन्तपञ्चमी, शिवरात्रिको समयमा मौसम गडबढ भएकै हुन्छ ।’
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष समेत रहेका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्त्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा र मौसमी गतिविधिमा उतारचढाव आउने गर्छ । थप प्रष्ट्याउँदै उनी थप्छन्– ‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २–४ दिन लम्बिने सम्भावना छ, हावा–हुरीसहित पानी पर्ने योग छ ।’
यता जल तथा मौसम विज्ञान विभागले पनि अझै केही दिन मौसममा उतारचढाव आउने बताएको छ । विभागले स्याटेलाइट तस्बिर, सतही मौसमी मापन स्टेसन, मौसमी नक्साजस्ता अभ्यासको सूचना विश्लेषण गरेर हरेक दिन मौसमी विवरण अद्यावधिक गर्दै आएको छ । नेपालको हिउँदे झरी सक्रिय र निस्क्रिय गराउन भूमध्य र अरब सागरबाट भित्रिने पश्चिमी वायुको प्रभाव रहने गरेको मौसमविदहरु बताउँछन् ।
वायुमण्डल र सतहमा रहेको हावाको गति र दिशा, जलवाष्पयुक्त हावाको मात्रा अध्ययन–अवलोकन गरेर मौसमी विवरण सार्वजनिक हुने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद शान्ति कँडेल बताउँछिन् ।
‘सूर्य र पृथ्वीको दुरी, सूर्यको तापक्रमजस्ता कुराले मौसमी विवरण हेरफेर गराउँछ, मौसमी चक्रमा विज्ञान र धार्मिक पक्ष पनि जोडिएको हुन सक्छ,’ उनी भन्छिन्– ‘तर, हामीले विज्ञानसँग जोडिएर मौसमी सूचना विश्लेषण गर्दै आएका छौं ।’
मौसममा आउने उतारचढावबारे विज्ञान र ज्योतिषशास्त्रको सम्बन्धबारे अध्ययन–अनुसन्धान आवश्यक रहेको विभागका अधिकारी बताउँछन् । अमेरिकाकी अन्तरिक्ष केन्द्र (नासा) ले वैज्ञानिक अध्ययन–अनुसन्धानको पाटो फराकिलो बनाउन पूर्वीय दर्शन अनुशरण गर्न थालेको र भारतले पनि मौसम भविष्यवाणीका क्रममा ज्योतिषशास्त्रको सहयोग लिन थालेको संस्कृतिविद् भट्टराई बताउँछन् ।
मौसम पूर्वानुमान महाशाखाले भोलि (मंगलबार) सम्म मौसम पूर्ण रुपमा सफा नहुने र आंशिक बदलीसहित हल्का वर्षा दोहोरिने बताएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (सोमबार) को तुलनामा भोलि (मंगलबार) को मौसम केही बढी प्रभावित बन्नेछ । ‘मंगलबार तराईबाहेक पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ’– उनको भनाइ रहेको खबर टीका बन्धनको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।