नेपाली राजनीतिक एक चर्चित नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र ‘मधेश आन्दोलन’ का चर्चित नेता उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालबीच एकता भई समाजवादी पार्टी नेपालको स्थापना भएको छ ।
नयाँ शक्ति र फोरमको विघटन तथा समाजवादी पार्टीको स्थापनासँगै समकालीन नेपाली राजनीतिक शीर्ष नेताहरुमध्येका एक प्रभावशाली नेता डा. बाबुराम भट्टराईले कार्यकारी नेतृत्व गुमाएका छन् र उनी केवल ‘एकेडेमिक लिडरसिप’ मा खुम्चन पुगेका छन् । दुई जना अध्यक्षको संयुक्त नेतृत्वमा अघि बढ्ने भनिएको नवगठित समाजवादी पार्टीमा केन्द्रीय समितिको अध्यक्ष बनेका छन् बहालवाला उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव । डा. भट्टराई भने संघीय परिषदको अध्यक्ष बनेका छन् ।
समकालीन नेपाली राजनीतिक शीर्ष नेताहरुमध्येका एक प्रभावशाली नेता डा. बाबुराम भट्टराईले कार्यकारी नेतृत्व गुमाएका छन् र उनी केवल ‘एकेडेमिक लिडरसिप’ मा खुम्चन पुगेका छन् ।
सारतः र वस्तुतः डा. भट्टराईले उपेन्द्र यादवको संगठनात्मक एवं राजनीतिक नेतृत्व स्वीकार गरेका छन् । महाधिवेशन पछिको सर्वशक्तिसम्पन्न निकाय भनिएको संघीय परिषद दर्शन, सिद्धान्त, नीति, योजना र कार्यक्रम तर्जुमाका हिसाबले शक्तिशाली निकाय भए तापनि संगठनात्मक एवं राजनीतिक सत्ता–अभ्यासका दृष्टिले नितान्त आलंकारिक अर्थात् ‘सेरेमोनियल’ अंग हो । कार्यकारी केन्द्रीय समितिमा एकलौटी नेतृत्व उपेन्द्र यादवलाई छाडिदिएर संघीय परिषदको अध्यक्ष बनेका डा. भट्टराईको भूमिका पनि सोही अनुरुपको हुने देखिएको छ । यसरी हेर्दा पूर्वप्रधानमन्त्री डा. भट्टराईको भूमिका केवल ‘एकेडेमिक लिडरसिप’ मा खुम्चन पुगेको स्पष्ट छ ।
संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, सात प्रदेशका सट्टा एघार प्रदेशको संघीय संरचना, हाल अभ्यास गर्ने प्रयास भैरहेको संघीय ढाँचाभन्दा अलिक बढी अधिकारसम्पन्न प्रदेश राज्यहरु आदि यस पार्टीका फरक मान्यता हुन् ।
बरु बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीका केही नेताहरु भने उपेन्द्र यादव नेतृत्वको केन्द्रीय कार्यसमितिमा पदाधिकारी बनेका छन् । नवराज सुवेदी, हिसिला यमी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडालगायतले उपाध्यक्ष, महासचिव, सचिवलगायतको भूमिका पाएका छन् ।
भट्टराई–यादवको मूल नेतृत्व र पूर्वएमालेको उपाध्यक्ष रहिसकेका अशोक राई तथा एमालेबाटै मन्त्री बनिसकेका रकम चेम्जोङ, तत्कालीन एमालेका स्थापित नेता राजेन्द्र श्रेष्ठलगायतले दोस्रो पंक्तिमा रहेर नेतृत्व गर्नेगरी गठन भएको समाजवादी पार्टीले केही फरक राजनीतिक मान्यता अघि सारेको छ । संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, सात प्रदेशका सट्टा एघार प्रदेशको संघीय संरचना, हाल अभ्यास गर्ने प्रयास भैरहेको संघीय ढाँचाभन्दा अलिक बढी अधिकारसम्पन्न प्रदेश राज्यहरु आदि यस पार्टीका फरक मान्यता हुन् ।
नाम नै ‘समाजवादी’ राखिएको भए तापनि रुस, चीन, क्युबा, भियतनाम आदि समाजवादी देशहरुले अभ्यास गरेको समाजवादसँग यस पार्टीले अघि सारेको समाजवादी मान्यताको कुनै साइँनो–सम्बन्ध देखिएको छैन । ‘यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवं मानवअधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रताजस्ता लोकतन्त्रका शाश्वत मूल्य र सबै आत्मसात् गर्नेछ,’ पार्टी एकता घोषणासभामा वितरण गरिएको एकता सहमतिका आधारहरुमा भनिएको छ– ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ ।’
यस पार्टीको कार्यक्रमका मौलिक विशेषताका रुपमा ‘१. राष्ट्रिय स्वाधीनता, २. संघीय शासन, ३. समाजवादी व्यवस्था, ४. सहभागितामूलक समावेशी लोकतन्त्र, ५. राष्ट्रिय पहिचान, ६. सामाजिक न्याय, ७. समतामूलक समृद्धि, ८. लोककल्याणकारी राज्य, ९. सुशासन र सदाचार, १०. समानुपातिक समावेशीकरण, ११. स्वशासन तथा स्वायत्तता, १२. सांस्कृतिक बहुलता, १३. समानुपातिक निर्वाचन प्रणाली, १४. पर्यावरणीय सन्तुलन र १५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता’ गरी पन्ध्र वटा बुँदा सोही आधारपत्रमा समेटिएका छन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्ने र त्यसका दस्तावेजहरु बनाउने क्रममा ‘दसवर्षे जनयुद्ध’ पदावलीलाई समेट्न निकै ठूलो सकस परेको र निकै कमजोर भाषाशैलीबाट मात्रै सम्बोधन गरिएको सन्दर्भलाई हेर्ने हो भने बरु यो एकताका क्रममा चाहिँ निर्धक्कसाथ उक्त पदावलीलाई समेटिएको छ । र, पार्टी घोषणाका क्रममा बोल्ने अधिकांश नेताहरुले पनि विनाहिच्किचाहट जनयुद्धको स्मरण र सम्मान गरे ।
थप यो पनि पढ्नुहोस्–
बाबुराम–उपेन्द्रको पार्टीमा क–कसले पाए के–के पद ? (नामावलीसहित)