newskoseli.Com

पुरुषले महिलाको उपचार गर्नु हुने, महिलाले पुरुषलाई मसाज गर्नु किन नहुने ?

समय र परिस्थितिले गर्दा पढ्न नपाएपछि उनले ब्युटीसियन बनेर जीविका चलाउँदै आएकी छन् । जवानीमा त छँदैछ, यो पेशा बुढेसकालमा पनि सजिलो हुने उनको विश्वास छ । उनी अर्थात् उर्मिला भण्डारी, जसको वि.सं. २०३४ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्म भएको हो । उनले अहिले पार्लर मात्र नभई मसाज सेन्टर पनि चलाइरहेकी छन् । मसाज र पार्लरसम्बन्धी तालिम दिनुका यस क्षेत्रको सेवा पनि प्रदान गरिरहेकी छन् । उर्मिलाको पार्लरमा महिला र पुरुष दुबैका निम्ति मसाज सेवा उपलव्ध छ ।

यही क्षेत्रमा लाग्नुको कारण के हो ?

पढ्न नपाएपछि पार्लर व्यवसाय सिकेकी हुँ । बुढेसकालमा पनि आफ्नै घरमा बसीबसी काम गर्न सकिन्छ भनेर काम कुनै ठूलो र कुनै सानो हुन्न भनीठान्दै यो पेसामा लागें ।

अहिलेसम्म कतिलाई तालिम दिनुभयो र कतिलाई रोजगारी दिँदै आउनुभएको छ ?

तालिम त धेरैलाई दिएँ । आफ्नैमा रोजगारी चाहिँ ३ जनालाई दिएकी छु ।

यो पेसा थाल्नुअघि अरु कुनै पेशा पनि गर्नु भएको थियो ?

मैले व्यवसायको सुरुआत नै यही पेशाबाट गरेकी हुँ । पछिसम्म पनि यही पेशालाई नै निरन्तरता दिने सोचेकी छु ।

यो पेसा थालेको चाहिँ कति भयो ?

भयो ६–७ वर्ष ।

कति लगानी गर्नुभयो नि ?

हामी तीन जनाको संयुक्त लगानी हो । भाडा मात्रै त मासिक १ लाख तिर्छौं, लगानी त निकै नै छ नि ।

तीन जनाको सहकार्यमा सञ्चालन गर्नुभएको रहेछ, यो पेशाप्रति सबै जना सन्तुष्ट हुनुहुन्छ त ?

हामीले सहकार्यमै चलाएको ४–५ वर्ष भइसक्यो, अहिलेसम्म त सबै जना सन्तुष्टै छौं ।

तपाईंहरुले अपनाएको यो पेशालाई हेर्ने समाजको दृष्टिकोण त उति राम्रै छैन नि, होइन ?

घरपरिवारबाट रामो सहयोग भएर होला, हामीलाई समाजप्रति वास्तै भएन । आफ्नो ठाउँमा, आफू गलत नभएर होला– समाजको डर पनि भएन । अनि समाजले कसरी हेर्छ ? त्यो कुरा पनि थाहा भएन ।

यहाँ मसाज गराउन पुरुषहरु पनि आउँदारहेछन्, कामदार चाहिँ महिला मात्र ? पुरुषलाई महिलाले मसाज गर्दा अप्ठ्यारो हुँदैन ?

अप्ठ्यारो त धेरै नै भयो । तर, अहिलेचाहिँ बानी परिसक्यौं । पुरुष डाक्टरले महिला बिरामीलाई वा महिला डाक्टरले पुरुष बिरामीलाई उपचार गर्दा हुन्छ भने हामीले पनि त्यही रुपमा मसाज गर्नु किन हुँदैन ? यही सोचेर नै हामीले पुरुषलाई समेत मसाज सेवा दिइरहेका छौं ।

अहिले त गल्लीगल्लीमै मसाज सेन्टर र ब्युटी पार्लरहरु छ्यापछ्याप्ती खुलेका छन्, यो स्थितिलाई के भन्नुहुन्छ ?

आ–आफ्नो पेशा गरेर खाने हो, गर्नुपर्छ । तर, सरकारी निकायहरुले चाहिँ अनुसन्धान गरी तालिमप्राप्त व्यक्तिहरुलाई मात्र खोल्न वा काम गर्न दिने  व्यवस्था गर्नुपर्छ । यो पेशालाई व्यवस्थित र मर्यादित नबनाई जोसुकैलाई मनलाग्दी ढंगले काम गर्न दिने हो भने एउटाको बदमासीका कारण सबै पार्लरहरुको बदनाम हुने डर हुन्छ ।

यो पेशा अँगाल्न चाहने नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ ?

मसाज वा पार्लर सेवामा आउन चाहने नयाँ पुस्तालाई हचुवाको भरमा नआई संवेदनशील हिसाबले सम्पूर्ण काम सिकेर मात्रै पेशामा प्रवेश गर्न सल्लाह दिन्छु ।

अन्त्यमा, न्युजकोसेली डटकममार्फत थप केही भन्न चाहनुहुन्छ ?

पार्लर र मसाज सेन्टरमा आउने ग्राहक महानुभावहरुलाई खराब नियतले नआइदिनुहुन र कामलाइ ठूलो–सानो भनी नछुट्याइदिनुहुन अनुरोध गर्दछु । मेरा कुराहरु जनसमक्ष राख्ने अवसर दिनु भएकोमा न्युजकोसेली परिवारलाई धन्यवाद ।

रेणुका काफ्ले/सजनी आचार्य

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर