newskoseli.Com

हास्यकलाकार सुबोधको ओली–प्रचण्ड ‘दोहोरी’ (भिडियोसहित)

विभिन्न राजनीतिक दलका शीर्ष नेता र मन्त्री–प्रधानमन्त्रीहरूकै अगाडि उभिएर, उनीहरुकै आवाजको नक्कल गरी व्यापक चर्चा बटुल्दै आइरहेका हास्यकलाकार सुबोध गौतमका युट्युबमा समेत थुप्रै रमाइला भिडियोहरु भेटिन्छन् ।

बिस्तारै ‘क्यारिकेचर किङ’ को छवि बनाउँदै गैरहेका गौतम स्वयं भने आफू हास्यविधाको जुझारु विद्यार्थी मात्र भएको दावी गर्छन् । ‘अबको हास्यव्यङ्ग्य अतिरञ्जित नभएर न्यायसङ्गत हुनुपर्छ,’ कलाकार गौतम भन्छन्– ‘अर्काको उछित्तो काढ्नु र क्यारिकेचर गर्नु मात्र हास्यव्यङ्ग्य होइन ।’

युट्युबमा हालै मात्र सार्वजनिक भएको हास्य–भिडियो श्रृंखला ‘हाँस्ने घर’ को १५औं अंकमार्फत् कलाकार गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताधारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको रोचक दोहोरीयुक्त ‘प्यारोडी’ प्रस्तुत गरेका छन् । नेकपाभित्र एकता र शक्ति बाँडफाँटका सन्दर्भमा बढिरहेको भनिएको विवादप्रति जनताको चासो बढिरहेकै बेला ‘ओली–प्रचण्डको चोटिलो र पोटिलो दोहोरी’, ऋषि धमलाका रूपमा सुमन कार्कीको रोचक र घोचक समाचारजस्ता अर्थपूर्ण प्रस्तुति श्रृंखला यो अंकमा समेटिएका छन् ।

‘हाँस्ने घर’ श्रृंखलामा यसअघि राजु भुजेल र सरापेसँग गौतमको इङ्लिस ‘भाइरल’ भएको थियो । ‘यसपालि गृहमन्त्रीज्यूको सामान्य कार्टुन प्रयोगमा ल्याएको छु,’ ठट्यौली पारामा सुबोधले न्युजकोसेलीसँग भने– ‘बादलले मादल नबजाए हुन्थ्यो ।’

हास्यव्यंग्य टेलिश्रृंखला ‘भद्रगोल’ मा ‘एकदुमे’ को भूमिका निभाइरहेका सुबोध सोही श्रृंखला र देश–विदेशका मञ्चहरुमा व्यस्त हुनुपर्दा ‘हाँस्ने घर’ चाहिँ अस्तव्यस्त हुन पुगेको बताउँछन् । अस्ट्रेलियाबाट फर्केलगत्तै सुबोधलाई उत्तर एसियन देशहरुमा जाने मौका मिलेको छ । त्यतै जाने तयारीमा लागेका छन् उनी ।

ठूलो पर्दाका चार–चार वटा चलचित्रमा अभिनय गर्न गतवर्ष आएका ‘अफर’ त्यागिदिएका सुबोध अब भने टिभी कार्यक्रमका बारेमा समेत सोच्नुपर्ने बेला आएको बताउँछन् ।

भिडियोमा हेर्नोस्, उनै सुबोधको ‘हाँस्ने घर’ को १५औं एपिसोड–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर