newskoseli.Com

तरकारीमा विषादीको भयावह अवस्था : जनस्वास्थ्य जोखिममा…

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा जनस्वास्थ्य जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले गरेको निर्वाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकहरूको भनाइ छ ।

विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा जनस्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएका तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ ।

लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायतका संवेदनशील अंगमा क्षति पुग्ने डा. केसीले बताए । ‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुका मुख्य कारणहरुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि एक हो’– उनले भने । विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको डा. केसीले बताए ।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्वाध बेचबिखन र उपयोग भइरहेको छ । तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन । ‘एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने जनस्वास्थ्यमा असर गर्छ । खाद्यवस्तुमा विषादीको मात्रा बढी हुँदा युवावस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ’– श्वासप्रश्वास विशेषज्ञ डा. करवीरनाथ योगीले भनेको खबर दिनेश गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर