newskoseli.Com

ऊर्जामन्त्रीको घोषणा : ३ वर्षभित्रमा सबैको घरमा बिजुली, रेणु दाहालका यस्ता माग…

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली बलिसक्ने घोषणा गरेका छन् । भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने उनले बताए ।

सो कामका लागि चालु आर्थिक वर्षमा २८ करोड रुपैयाँ बजेट छुट्याइएको मन्त्री पुनले बताए । ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी उनले दिए । मन्त्री पुनले भने– ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’ प्रधानमन्त्रीको पानीजहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई पनि अगाडि बढाइएको उनले बताए । मन्त्री पुनले भने– ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’ सबै स्थानमा डेढ मिटर पानी भएमा २ सय ५० देखि ३ सय कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको उनको भनाइ छ ।

कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको उनले बताए । भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको उनले बताए । २० करोड रुपैयाँको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको मन्त्री पुनले जानकारी दिए ।

‘जहाजमा उड्नेले पनि आकाशबाटै उज्यालो देख्ने’

‘नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दैछ,’ मन्त्री पुनले भने– ‘आकाशमा उड्नेले पनि जहाजबाटै उज्यालो भरतपुर देख्ने छन् ।’ वर्तमान सरकार कानुन निर्माण र सङ्घीय व्यवस्थाअनुरूप तीन तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध एवं दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको ऊर्जामन्त्री मन्त्री पुनले बताए । उनका अनुसार यस वर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनका लागि करिव ६ अर्ब रूपैयाँको बजेट विनियोजन गरेको छ । नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद विजय सुवेदी र मिलनबाबु श्रेष्ठले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताए । नारायणी नदी तटबन्ध, पश्चिम चितवनका सिँचाइको व्यवस्था र चक्रपथको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन महानगर प्रमुख रेनु दाहालले ऊर्जामन्त्री पुनसमक्ष आग्रह गरिन् । मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिँचाइका लागि नारायणी लिफ्ट र खगेरी सिँचाइको विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गर्न समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा जलस्रोत तथा ऊर्जा मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, भरतपुर महानगरपालिका– २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इन्जिनियर भरत आचार्य, भरतपुर महानगरपालिका– १६ का कार्यबाहक अध्यक्ष ओम रावल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले आफ्नो पनि आ–आफ्ना धारणा राखेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर