newskoseli.Com

१३औं दक्षिण एशियाली खेलकुद : ५१ स्वर्णसहित नेपालको कीर्तिमान (समग्र पदक तालिकासहित)

नेपालले ५१ स्वर्ण पदकसहित १३औं दक्षिण एशियाली खेलकुद (साग) को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यस पटक कीर्तिमानी प्रदर्शन गरेको हो ।

१३औं सागमा नेपालले हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । तेह्रौं सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २ सय ५ पदक जित्यो ।

नेपालले मंगलबार बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जित्यो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको हो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जिते । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।

नेपालले आठौं सागजस्तै यस पटक तेक्वान्दो र करातेमा सफलता प्राप्त गर्‍यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक नेपाललाई प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौं सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।

यस्तै, करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै विनाकुनै रन ६ विकेट लिएर विश्वकीर्तिमान बनाइन् । तेह्रौं सागका खेल काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।

भारत १ सय ७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३ सय १२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै, श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १ सय २८ कास्यसहित कूल २ सय ५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १ सय ३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १ सय ३८ पदक जितेर पाँचौं, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौं तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

यस्तो रह्यो साग पदक तालिका–

देश             स्वर्ण         कास्य        रजत           जम्मा
भारत           १७४           ९३              ४५               ३१२
नेपाल            ५१            ६०              ९५               २०६
श्रीलङ्का          ४०            ८३             १२८              २५१
पाकिस्तान      ३१           ४१             ५९                १३१
बङ्गलादेश       १९          ३२             ८७                 १३८
माल्दिभ्स         १            ०               ४                   ५
भूटान             ०            ७               १३                  २०

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर