
वैज्ञानिकहरु भन्छन्– ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् । क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेण्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको व्यवस्था भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ– ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्याउँदैन ।’
बिहीबार (आज) खण्डग्रास सूर्य ग्रहण । ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता गलत भएको’ विशेषज्ञहरुले बताएका छन् । नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानि नहुने उनीहरुको भनाइ छ । उनीहरुका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदा समेत कुनै असर पर्दैन ।
पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रुपमा निस्कने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ । ‘सूर्य ग्रहणको समय कुनै विशेष किरण वा कणको उत्सर्जन हुँदैन,’ भौतिकशास्त्री उदयराज खनालले भने– ‘त्यसैले शरीरमा नकारात्मक असर पर्ने कुरै आउँदैन ।’
वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. डी.एन. साहले ग्रहण लागेको सूर्यलाई नांगो आँखाले नहेर्न सुझाव दिए । ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ,’ उनले भने– ‘ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम ।’
काठमाडौंमा बिहान ८ः४३ मा सुरु हुने सूर्य ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट ८ः३८ मा र पूर्वी नेपालको भद्रपुर (झापा) मा ८ः४८ मा सुरु हुने छ । काठमाडौंमा ग्रहण अवधि २ घन्टा ५० मिनेट, महेन्द्रनगरमा २ घन्टा ४१ मिनेट र झापामा २ घन्टा ५३ मिनेट रहने छ । काठमाडौं र महेन्द्रनगर (कञ्चनपुर) मा ३९ प्रतिशत र भद्रपुर (झापा) मा ३६ प्रतिशत सूर्यलाई चन्द्रमाले ढाक्ने छ ।
सूर्य ग्रहणबारे आधारभूत जानकारी दिने र नेपाली समाजमा विद्यमान भ्रम तथा रुढीवाद निवारण गर्ने यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।