newskoseli.Com

अनेरास्ववियुले पायो पूर्णता : ३३५ को केन्द्रीय कमिटी, १११ को सचिवालय, ४५ को स्थायी कमिटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकीकृत भई बनेको अनेरास्ववियुले ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन ।

अनेरास्ववियुले जिल्ला कमिटीहरुलाई भने यसअघि नै पूर्णता दिइसकेको छ । केन्द्रीय कमिटीमा साविक अनेरास्ववियुबाट १८० र साविक क्रान्तिकारीबाट १५५ जना सदस्य अटाएका छन् । अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङसहितको ‘फ्रयाक्सन कमिटी’ को बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।

नवगठित कमिटीमा १११ केन्द्रीय सदस्य रहेको सचिवालय र ४५ जना रहेको स्थायी कमिटी समेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटी भने पछि तोकिने संयोजक महरले जानकारी दिए । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग समेत गठन गरिएका छन् । निर्वाचन आयोगको संयोजकमा भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगको संयोजकमा धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगको संयोजकमा प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहेका छन् ।

नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय युवासङ्घ, प्रेस सङ्गठन नेपाल, इन्जिनियरिङ एशोसियसन र निर्माण व्यवसायी सङ्गठनले पूर्णता पाएका छन् । पूर्णता पाएको कमिटीसहित पुस २७ मा राष्ट्रिय भेला र पुस २८ मा केन्द्रीय कमिटी बैठक डाकिएको सहसंयोजक तामाङले जानकारी दिए । अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गरिसक्ने भएको छ । प्रदेश कमिटीमा चार प्रदेशको नेतृत्व साविक अनेरास्ववियुले र तीन प्रदेशको नेतृत्व साविक क्रान्तिकारीले पाउने सहमति भएको छ ।

अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीमा लाग्ने तामाङले बताए । अनेरास्ववियुले क्याम्पस एकाई कमिटीहरुलाई पूर्णता दिन भने अझै बाँकी नै रहेको खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
अध्यक्षलाई महासचिव मुनि जिम्मेवारी, तैपनि स्वीकार्ने रन्जित तामाङको घोषणा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर