newskoseli.Com

‘कच्याककुचुक खाँदा जन्डिसले थलिएँ’ : ‘जिग्री’ सँग रमाइलो कुराकानी

पछिल्लो समय टेलिभिजनको स्क्रिनमा सबैभन्दा धेरै हेरिने हास्यश्रृङ्खला हो– ‘सक्किगो नि’ । यसै श्रृङ्खलाका लेखक, निर्देशक तथा कलाकार हुन्– कुमार कट्टेल अर्थात् ‘जिग्री’ । उनी कुमारभन्दा पनि जिग्रीकै नामले परिचित छन् । वर्तमान युवाजमातका एक प्रतिनिधिपात्रको क्यारेक्टरमा अभिनय गर्दै आएका उनै जिग्रीसँग गरिएको जीवनशैलीमा आधारित कुराकानी–

बिहानदेखि बेलुकीसम्मको दैनिकी बताइदिनोस् न !

मेरो दैनिकी त अस्तव्यस्त नै छ । बिहानदेखि बेलुकासम्म दौडधुपमै हुन्छु । अर्को कुरा, हरेक दिनको दैनिकी फरक–फरक नै हुन्छ । कहिले सुटिङ पर्छ, कहिले के पर्छ । मेरो एउटै दैनिकी हुँदैन । सेड्युल हेरेर आफ्नो कामको सुरुआत गर्छु ।

बिहान कति बजे उठ्नुहुन्छ ? बेलुकी कति बजे सुत्नुहुन्छ ?

अबेला सुत्ने बानी छ । त्यही भएर होला, मेरो उठाइ बिहान ८–९ बजेतिर मात्रै हुन्छ । सुत्दा चाहिँ राति ११–१२ नै बज्छ । त्यहाँभन्दा छिटो सुत्दिनँ ।

उठ्नासाथ चाहिँ के गर्नुहुन्छ ?

सबभन्दा पहिले त बाथरुम नै जान्छु । एक छिन सामाजिक सञ्जालमा बस्छु । तातो पानी पिएर अरु काम थाल्छु । दिनभरिका काम के–के छन्, हेर्छु । कोहीसँग भेट्छु या केही काम गरिरहेको हुन्छु ।

बिहान उठेदेखि बेलुकी नसुतुन्जेल कुन–कुन समयमा, के–के खानुहुन्छ ?

बिहान उठेपछि ब्रेकफास्ट खान्छु । त्यसपछि खाना खाने तरखर हुन्छ । पानी धेरै पिउँने मेरो बानी छ, टन्न पिउँछु । अनि बाहिर निस्कन्छु कामका लागि । हामी कलाकारहरूको कुन समयमा, के खाने भन्ने टुङ्गो नै हुँदैन । काम कसरी गर्ने भन्नेमा नै बढी ध्यान हुन्छ । सुटिङ पर्दा अलिक बढी नै समय लाग्छ, यति नै भन्ने छैन ।

‘फिट–फाइन’ रहन के–कस्तो खानपान गर्नुहुन्छ ?

स्वस्थ रहने कुरामा एकदमै सजग छु । बिहान उठेदेखि बेलुकासम्म पाँच लिटरजति त पानी नै पिउँछु । अमिलो–पिरो–गुलियो कमै खान्छु किनभने मलाई यस्तो खानाले असर गर्छ । बिहान खाना नखाई निक्लें भने हाइजेनिक नै खानु परिहाल्यो । बेलुका पनि माछा–मासु कमै खान्छु ।

कुनै रोगबाट पीडित हुनुहुन्छ ?

मलाई ग्यास्ट्रिकको समस्या छ, त्यसैबाट पीडित छु ।

खाना प्रायः घरमै खानुहुन्छ कि बाहिर ? खाना आफैं बनाउनुहुन्छ कि अरुले नै बनाउँछन् ?

धेरैजसो त बाहिर नै खान्छु । कार्यक्रममा हिँडिरहनुपर्ने भएकाले घरको खाना कम नै खाइन्छ । घरमा हुँदाचाहिँ आफैं बनाएर खान्छु नत्र बाहिर नै हो । बाहिर खाँदा आफूलाई मन पर्ने र शरीरलाई असर नपर्ने खाना नै खान्छु ।

अर्ग्यानिक र हाइजेनिक खानपानमा कत्तिको सचेत हुनुहुन्छ ?

अघि नै भनिसकें, सकेसम्म धेरै सचेत छु । पाए र भ्याएसम्म अर्ग्यानिक नै खाने हो । सुटिङमा पुगेपछि मलाई छुट्टै, अरुलाई छुट्टै भन्ने कुरा भएन । पछिल्लो समय घरबाटै खाना लिएर जाने गरेको छु । हाइजेनिक अवस्था हेरेर खाइन्छ । पछिल्लो समय खानपानलाई कसरी स्वस्थ बनाउने भन्नेमा पुगेको छु । सुरुआत गर्दैछु । कतै कार्यक्रममा जाँदा समयमा नपुगिँदा बाटोमा ‘कच्याककुचुक’ खानै परिहाल्यो ।

स्वास्थ्यमा यति धेरै ध्यान दिनुपर्छ भन्नेचाहिँ कसरी लाग्यो नि ?

धेरै सुटिङमा हिँड्दा ग्यास्ट्रिकले समायो । सुटिङको व्यस्तताले खाना खाने समय नमिल्दा ग्यास्ट्रिकले च्याप्यो । शरीर गाह्रो भएपछि स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने लागेको हो । समयमा खान नभ्याएपछि ग्यास्ट्रिकले एकदमै पिरोल्यो । स्वास्थ बिग्रिएपछि नै सचेत रहनुपर्छ भन्ने लाग्यो ।

‘जङ्क फुड्स्’ कत्तिको खानुहुन्छ ? यसबारे तपाईंको धारण के छ ?

जङ्क फुड्स् त सकेसम्म कम गरौं भन्छु । नखाऊँ त भन्न सक्दिनँ । कहिले कता, कहिले कता पुगिएका बेला यसैले पनि काम चलाउनुपर्छ । तर, सकेसम्म कम गरौं भन्छु । हल्काफुल्का खान्छु ।

शारीरिक–मानसिक स्वस्थताका निम्ति व्यायाम कसरी, कति गर्नुहुन्छ ?

योगा गर्छु । मानसिकरूपमा तन्दुस्त रहन सचेत छु । ब्याडमिन्टन खेल्छु । जिम पनि जान्छु । बिहान भ्याएँ भने यी सबै गर्छु नत्र योगाचाहिँ अनिवार्य हो । दिनभरिका काम गरेर साँझ अलिक् छिटो आइयो भने मेडिटेसन पनि गर्छु ।

बेला–बेलामा स्वास्थ्य जाँच गराउनुहुन्छ कि गराउनुहुन्न ?

एकदमै गराउँछु । पाँच–छ महिनामा स्वास्थ्य जाँच गराइरहन्छु । स्वास्थ्य जाँच नगराउने कुरै हँुदैन नि ! स्वास्थ्यमा खेलबाड गर्नुहुन्न भन्ने पक्षमा छु । स्वास्थ्यभन्दा ठूलो धन कहाँ छ र, होइन ?

के–के चेक गराउनुहुन्छ ?

अल्ट्रासाउन्ड गराउँछु । ब्लड, मिर्गौला, सुगरलगायत होलबडी चेकअप गराउँछु । आफूलाई केही डाउट लाग्यो भने जतिखेर पनि चेकजाँच गराइहाल्छु ।

औषधि खानुभएको छ कि छैन ?

मैले खासै औषधिहरू चाहिँ खाएको छैन । कहिलेकहीं ग्यास्ट्रिकले सताएका बेला खान्छु, नियमित त छैन । म चिसोले पनि एकदमै समातिनेमा पर्छु । यसैकारण अति नै टाउको दुख्दा औषधि खान्छु नत्र खाँदिन ।

स्वास्थ्य समस्या भएर अस्पतालै भर्ना हुनुभएको छ कि छैन ?

छ । एक पटक फुड–पोइजन भएर लामै समय अस्पताल बसें । जन्डिस पनि भएछ, जसका कारण अस्पताल नै बस्नु परेको थियो । त्यसपछि भने छैन ।

ज्वरो, रुघा–खोकीजस्तासमस्या हुँदा कस्तोे उपचार विधि अपनाउनुहुन्छ ?

मेरो शरीर अलिक् कमजोर नै छ । रुघा–खोकीले समाइरहेकै हुन्छ । समाधानका लागि घरेलु विधि अपनाउँछु । तातो पानी, बेसार–पानी, जिरालगायत घरकै उपचार विधि अपनाउँछु । यस्तो अवस्थामा घरमै बसेर आराम गर्छु ।

मेडिकलबाट सोझै औषधि किनेर खानुहुन्छ कि विशेषज्ञ चिकित्सकसँग जाँच गराएर मात्रै खानुहुन्छ ?

अति नै भयो भने डाक्टरको हल्लाहअनुसार लिएको छु नत्र सकेसम्म मेडिकलको औषधि नै नखाने मेरो सोच हो ।

स्वास्थ्य समस्याका कारण कुनै नमिठो अनुभव स“गाल्नुभएको छ ?

जन्डिसले दुई वर्षसम्म थलाएको छ । भाइरल जन्डिसले सताएको थियो, अर्को कालो जन्डिसले पनि समातेछ । हाम्रो मानसिकता के थियो भने जन्डिस भएपछि नुन बार्नुपर्ने, खाना कम गर्नुपर्ने, उमालेको खाने कुरा मात्रै खाने… । त्यही सोचले गर्दा होला, निकै कमजोर भएँ । थप ग्यास्ट्रिक पनि भएपछि त के नै चाहियो र ! यसैको नराम्रो अनुभव छ ।

अनुहार र शरीरको सुन्दरताका लागि के गर्नुहुन्छ ?

पहिलो कुरा त सोच नै हो । आफूलाई कसरी खुशी राख्न सकिन्छ भन्ने नै हो । भित्री अनुहार राम्रो भएपछि त बाहिरी अनुहार त्यसै राम्रो भइहाल्छ । मनमा पीर भएको अनुहार जति नै मेकअप गरे पनि नराम्रै देखिन्छ । सकारात्मक सोच नै सुन्दरताको मुहान हो । रेगुलर फेसवास गर्छु । बाहिर निस्कँदा क्रिमहरू लगाउँछु । आफूलाई चाहिने र अट्ने सामग्री गोजीमा पनि बोकिरहेको हुन्छु ।

मेकअपका/कस्मेटिक्स सामग्री किन्दा गुणस्तरमा कत्तिको ध्यान दिनुहुन्छ ?

एकदमै ध्यान दिन्छु । मेरो अनुहारमा कस्ता खालका कस्मेटिक्स सामग्री फिट हुन्छन् भनेर डाक्टरको सल्लाहअनुसार नै किन्छु, जथाभावी किन्दिन । छोरा मान्छेलाई त्यति धेरै मेकअपका सामान चाहिँदो रहेनछ । थोरै किन्छु, राम्रा किन्छु ।

हाेलिस्टिक बाट

यो पनि पढ्नुहोस्–
चर्चित हास्यकलाकार ‘दारी बा’ को रमाइलो जीवनशैली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर