newskoseli.Com

‘हल्का ग्ल्यामर मन पर्छ’: डा. प्रकृति ज्ञवाली, छालारोग/सौन्दर्य विशेषज्ञ

छालारोग तथा सौन्दर्य विशेषज्ञ हुन्– डा. प्रकृति ज्ञवाली । पाँच फिट तीन इन्च उचाई भएकी डा. ज्ञवालीको तौल ५८ किलो छ । उनको उचाइ–तौल अनुपात सामान्य नै हो । ३६ वर्षीय प्रकृतिले छालारोग तथा सौन्दर्यका क्षेत्रमा सेवा गर्न थालेको करिव ६ वर्ष भयो । फुर्तिलो शरीरकी उनी स्वयम् त स्वस्थ र सुन्दर छिन् नै, लगाउने पोशाकमा समेत उत्तिकै सचेत छिन् । डा. प्रकृतिले लगाउने पोशाक चिटिक्क र फिट हुन्छन् ।

पर्सनालिटी नै पोशाकबाट झल्कने भएकाले आफूले लगाउने पोशाकमा चिकित्सक सचेत हुनुपर्ने डा. ज्ञवालीको धारणा छ । त्यसमाथि अझ छालारोग तथा सौन्दर्य विशेषज्ञका रूपमा सेवारत व्यक्तिले आफ्नो पोशाक तथा सौन्दर्यतामा झन् बढी सचेत हुनुपर्ने उनको अनुभव छ । काठमाडौंको लाजिम्पाटस्थित ‘एस्थेभा स्किन क्लिनिक’ को सञ्चालक रहेकी उनी छालारोग तथा सौन्दर्यसम्बन्धी सेवा दिन व्यस्त रहन्छिन् । प्रस्तुत छ, उनै छालारोग तथा सौन्दर्य विशेषज्ञसँग गरिएको पोशाक–संवाद ।

पोशाकमा कत्तिको सचेत हुनुहुन्छ ?

छु । बिरामीसँग नजिक भएर सेवा गर्नुपर्ने पेशा भएकाले आफूले लगाउने पोशाकप्रति सचेत हुन्छु । लगाइने पोशाकले नै पर्सनालिटी झल्कन्छ त्यसैले सोच–विचार गरेर नै पोशाक लगाउँछु ।

कस्ता पोशाक लगाउन मन पर्छ ?

धेरैजसो त पाइन्ट र सर्ट नै लगाइन्छ । फर्मल पनि लगाइन्छ तर ‘सेमी–फर्मल’ किसिमका पोशाक बढी लगाउँछु । आफूलाई काममा कम्फर्टेबल हुने किसिमका पोशाक लगाउन मन पर्छ ।

तपाईंको पोशाकका प्रायः ‘आइटम’ के–के हुन् ?

धेरैजसो पाइन्ट, लङ् स्कर्ट र सर्ट लगाउँछु । मेरा यस्तै आइटम धेरै हुन्छन् । कुर्ता–सुरुवाल कमै लगाइन्छ ।

गर्मी मौसममा कस्ता पोशाक तपाईंको छनोटमा पर्छन् ?

गर्मी मौसममा पनि धेरैजसो सेमी–फर्मल किसिमकै सर्ट–पाइन्ट लगाउँछु । हिँडडुल तथा कामकाज गर्दा हल्का हुने किसिमका पोशाक लगाइन्छ ।

पोशाक किन्न कत्तिको शौख लाग्छ ?

एकदमै शौखिन छु । आफूले लगाउने पोशाक आफैं किन्छु । चुजी छु । अरुले किनिदिएको पोशाक त चित्तै बुझ्दैन ।

पोशाकमा वार्षिक कति खर्च गर्नुहुन्छ ?

जाडोका पोशाकमा करिव ३० हजार र गर्मीका पोशाकमा १५ हजार जति खर्च गर्छु । विदेश गएको समयमा त योभन्दा पनि बढी खर्च हुन्छ । एक पटक विदेश जाँदा करिव ५० हजार रूपैयाँ जति त पोशाक किन्नमै सकिन्छ । यसरी हिसाब गर्दा पोशाक किन्न वर्षमा झन्डै एक लाखजति खर्च हुन्छ होला ।

त्यसो भए कपडा त टन्नै होलान् नि ?

म कपडा जम्मा गरेरै राख्दिनँ । मन पर्ने कपडा लगाउँछु, मन नपरेका कपडा कि कसैलाई दिन्छु नत्र स्टोरमा कतै राख्छु । पुराना कपडा पनि जम्मा गरेर राखिरहँदिनँ ।

एक जोर लुगा कति दिनसम्म लगाउनुहुन्छ ? दैनिक फरक–फरक लगाउनुहुन्छ ?

दैनिक त चेन्ज गर्दिनँ । सामान्यतः हप्तामा एक पटक पोशाक परिवर्तन गरेर लगाउँछु । फेस्टिबल भएको ठाउँमा जानु पर्दा फेस्टिबल सुहाउँदो पोशाक लगाउँछु ।

कस्तो रङ्गका कपडा मन पर्छन् ?

डार्क कालो रङ्गको पाइन्ट र माथिको कपडा सेतो रङ्गका मन पर्छन् । बजारमा पोशाकको छनोट गर्दा पनि रङ्गमा ध्यान दिएर नै किन्छु । आफूलाई मन पर्ने रङ्गका पोशाक नै किन्ने बानी छ ।

कपडा नेपालमै किन्नुहुन्छ कि विदेशमा ?

विदेश गएको समयमा उतै किनिन्छ । विदेश गएको समयमा पहिलो टार्गेट आफ्नो सम्बन्धित काम (ट्रेनिङ) हुन्छ भने सेकेन्ड टार्गेट सपिङमै हुन्छ । चीनमा पढ्दा उतै किनिन्थ्यो । पहिले–पहिले त नेपालमा कमै किनिन्थ्यो । अहिले भने नेपालमा पनि आफूले लगाउने पोशाक किन्न थालेकी छु ।

अहिले प्रायः नेपाली ब्रान्डका कपडा लगाउनुहुन्छ कि विदेशी ?

धेरैजसो पोशाक विदेशबाटै किनिने भएकाले विदेशी ब्राण्डकै बढी लगाइन्छ ।

चिकित्सकीय पेशामा रहेका व्यक्तिले ‘ड्रेस सेन्स’ मा कत्तिको ध्यान दिनुपर्छ भन्ने ठान्नुहुन्छ ?

ध्यान दिनु जरुरी छ किनकि चिकित्सकले लगाउने पोशाकको पेसेन्ट (बिरामी) ले जज् गर्छन्; चिकित्सकको हाउभाउको जाँच गर्छन् । मेरो अनुभवमा अझ सौन्दर्यजस्तो विधा अँगालेका चिकित्सकले त पोशाकमा झन् बढी ध्यान दिनैपर्छ ।

चिकित्सकीय क्षेक्रका व्यत्तिले कस्ता पोशाक लगाउनु उचित मान्नुहुन्छ ?

सौन्दर्य सेवाजस्तो विधा अँगालेका चिकित्सकले धेरै फर्मल होइन, सेमी–फर्मल र हल्का, ग्ल्यामर देखिने किसिमका पोशाक लगाउनु उचित हुन्छ । धेरै ग्ल्यामर देखिने किसिमका पोशाक लगाउनु पनि उचित हुँदैन । कतिपय समयमा हल्का ग्ल्यामर देखिने पोशाक चाहिँ आवश्यक हुन्छ । छालारोग तथा सौन्दर्य विशेषज्ञका रूपमा सेवा गर्ने चिकित्सकले भने सेवाग्राहीको मनोविज्ञान तथा मनोभाव विचार गरेर पोशाक लगाउनु उचित हुन्छ । पोशाक लगाउँदा समाजिक परिस्थितिलाई पनि ख्याल गर्नुपर्छ । यस्ता विषयमा चिकित्सकले सचेत हुनु आवश्यक छ ।

जुत्ताको पनि कुरा गरौं, जुत्ताचाहिँ कस्ता मन पर्छन् ?

जाडो मौसममा फर्मल देखिने बुट र समर (गर्मी मौसम) मा बेलिज सुज मन पर्छ ।

जुत्ता कति जोर छन् त तपाईंसँग ?

जति किनिन्छ, क्वालिटिका नै किनिन्छ । लगाउन सजिलो हुने र लामो समय टिक्ने किसिमकै जुत्ता किन्ने भएकाले जुत्ता त कमै मात्र छन् ।

वर्षमा कति जोर जुत्ता किन्नुहुन्छ ?

जुत्ता कमै किनिन्छ । वर्षमा त्यस्तै चार जोरजति किन्छु ।

हाेलिस्टिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर