newskoseli.Com

कामचलाउ ‘नयाँ’ मन्त्रिमण्डल : को–को भित्र्याइए, को–को हटाइए ? (सूचीसहित)

कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले मौजुदा मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर चुनाव समेत घोषणा गरिसकेको अनि संविधानको धारा ७६ (२) वमोजिमको नियुक्तिमा विश्वासको मत गुमाएर ७६ (३) अनुसार पुनर्नियुक्ति लिँदा समेत विश्वासको मत हासिल गर्न नसकेर संविधानतः अपदस्थ भइसकेका प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनलाई संविधान र कानुनका जानकार एवं राजनीतिक वृत्तले आपत्तिजनक र हास्यास्पद हर्कत भएको बताएका छन् ।

एमाले पार्टी विभाजनको अन्तिम संघारमा उभिएका बेला स्वयं ओली समूहभित्रै समेत थामिनसक्नुको अन्तर्कलह, विवाद, गुटबन्दी र तिक्तता रहेको कुरा समेत मन्त्रिमण्डलको पुनर्गठनले छताछुल्ल पारिदिएको छ । यसअघि ओलीका भरलाग्दा विश्वासपात्र ठानिएकाहरु मन्त्रिमण्डलबाट लखेटिएका छन् भने झलनाथ–माधव समूहबाट ‘बिक्री भएका’ भनिएकाहरु भित्र्याइएका छन् । जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेर पार्टीबाट निष्काशित गरिसकेकाहरु सरकारको मुख्य शक्तिका रुपमा हावी हुन पुगेका छन् ।

यसअघि १८ सदस्यीय मन्त्रिमण्डल रहेकामा अब १७ सदस्यीय मन्त्रिमण्डल भएको छ । यसअघिका १३ मन्त्रीले बिदा पाएका छन् भने उपप्रधानसहित १२ मन्त्री नयाँ थपिएका छन् । बिदा पाउने सबै ओली समूहका छन् भने थपिएका २ जना ओली समूहका र १० जना जसपाको ठाकुर–महतो समूहका छन् । ओलीले आफ्नो समूहका पुराना चार मन्त्रीलाई निरन्तरता दिएका छन् भने तीन राज्यमन्त्रीसहित ११ जनालाई बिदा गरेका छन् । ओली समूहका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र कानुनमन्त्री लीलानाथ ​श्रेष्ठले निरन्तरता पाएका छन् ।

नयाँ मन्त्रीका रुपमा शेरबहादर तामाङले स्वास्थ्य र रघुवीर महासेठले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघिका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धपाइएका छन् । यसबाहेक ओली समूहबाट यसअघि मन्त्री रहेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्माकुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले र जुलीकुमारी महतोसहित नौ जना र राज्यमन्त्री रहेका नवराज रावत, रामवीर मानन्धर र विमला विक गरी तीनजना पनि धपाइएका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा प्रधानमन्त्री, ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्री रहेका छन् । अहिले पनि रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग–वाणिज्य र सामान्य प्रशासनसहित ७ मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । मन्त्रिमण्डलमा केही ‘मालदार’ सिट खालि राखेर ओलीले झलनाथ–माधवकुमार समूहतिरका ‘प्रभावशाली’ र ‘दोस्रो पुस्ताका’ भनिने नेताहरुलाई आकर्षित गर्न ‘हरियो घाँस’ का रुपमा दुरुपयोग गर्ने प्रयत्न गरिरहेको देखिएको छ ।

यस्तो छ मन्त्रिमण्डलको पछिल्लो कार्यविभाजन–

  1. केपी शर्मा ओली– प्रधानमन्त्री; रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
  2. विष्णुप्रसाद पौडेल– उपप्रधानमन्त्री, अर्थ
  3. रघुवीर महासेठ– उपप्रधानमन्त्री, परराष्ट्र
  4. राजेन्द्र महतो– उपप्रधानमन्त्री, सहरी विकास
  5. शरतसिंह भण्डारी– मन्त्री, ऊर्जा
  6. कृष्णगोपाल श्रेष्ठ– मन्त्री, शिक्षा
  7. अनिलकुमार झा– मन्त्री, खानेपानी तथा सरसफाई
  8. शेरबहादुर तामाङ– मन्त्री, स्वास्थ्य तथा जनसंख्या
  9. लक्ष्मणलाल कर्ण– मन्त्री, भूमि व्यवस्था
  10. वसन्तकुमार नेम्बाङ– मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  11. लीलानाथ श्रेष्ठ– मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला
  12. विमल श्रीवास्तव– मन्त्री, श्रम तथा रोजगार
  13. उमाशंकर अरगरिया– मन्त्री, वन तथा वातावरण
  14. चन्दा चौधरी– मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  15. एकवाल मियाँ– मन्त्री, युवा तथा खेलकुद
  16. चन्द्रकान्त चौधरी– राज्यमन्त्री, ऊर्जा
  17. रेणुका गुरुङ– राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर