newskoseli.Com

जनपक्षीय पत्रकारिता : फेरिएको चरित्र

‘विकेन्द्रित व्यवस्थापन, केन्द्रित एजेन्डा’ नारा अघि सार्नु जरूरी

आजको डिजिटल यूगमा जनपक्षीय पत्रकारिताको चरित्र कस्तो हुने ? पुँजीवादी संरचनाभित्र रहेर यसको प्रयोग र विकास कसरी गर्ने ? बहुराष्ट्रिय कम्पनीहरूमार्फत निर्मित सञ्चार–नियन्त्रित साम्राज्यवादी वर्चश्वलाई तोडेर वैकल्पिक पत्रकारिताको धारलाई कसरी रक्षा गर्ने ? सञ्चार प्रविधिको अभूतपूर्व विकासले पैदा गरेको अँध्यारो पुँजीवादी सुरुङबाट निकालेर सञ्चारकर्मलाई जनता र परिवर्तनको पक्षमा लड्न सक्ने वौद्धिक सेनाका रूपमा कसरी परिचालन गर्ने ?

हाम्राअघि इतिहासले यस्ता यावत प्रश्नहरू उभ्याइदिएकाे छ । यी प्रश्नहरूको उत्तर नखोजी जनपक्षीय पत्रकारिताको मार्गचित्र कोर्न सकिँदैन । यसका लागि एउटा लामो र श्रृङ्खलावद्ध अभियानको आवश्यकता पर्दछ । यस लेखमा यी प्रश्नहरूको समग्र उत्तर खोज्ने प्रयास नगरी नेपालको जनपक्षीय पत्रकारिताले आज भोगिरहेका समस्याहरूबारे सामान्य चर्चा गरिनेछ ।

बितेको दशक नेपाली जनपक्षीय पत्रकारिता क्षेत्रका निम्ति उत्साहजनक रहेन । सङ्गठन निर्माणमा सङ्ख्यात्मक दृष्टिले उपलब्धि हासिल भए पनि वैचारिक–राजनीतिक रूपमा गुणात्मक विकास गर्न सकिएन । विभाजन र एकताको चक्रीय भूमरीमा सङ्गठन अल्झँदा यसतर्फ ठोस योजना बन्न सकेन । फलस्वरूप सङ्गठनको वैचारिक–राजनीतिक धार कमजोर मात्र भएन, सिङ्गो जनपक्षीय पत्रकारिताकै बहस र एजेन्डाहरू समेत ओझेलमा पर्न गए ।

प्रत्येक समाजमा चल्ने वर्गसङ्घर्षको स्वरूप र चरित्रले त्यस समाजका सबै अवयवहरूको चरित्र र विकासको गति निर्धारण गर्ने गर्दछ । वर्गसङ्घर्ष चलायमान हुँदा समाजका सबै अङ्गहरू तरङ्गित हुन्छन् र यसले आफ्नो चरित्र निर्माण गर्दै विकासको बाटोमा अघि बढ्दछ । तर, वर्गसङ्घर्ष सुषुप्त भयो भने समाजका सबै चिजहरू जमेको पोखरी झैँ स्थिर बन्न पुग्दछन् ।

नेपाली जनपक्षीय पत्रकारिताको वितेको दशक त्यही जमेको पोखरीकै अवस्थामा रह्यो । जनपक्षीय पत्रकारिताको क्षेत्रमा क्रियाशील भएकाहरूले सञ्चालन गरेका मिडियाहरू पनि एजेन्डाविहीन र पक्षधरताको सिद्धान्तभन्दा बाहिर रहेर चले/चलिरहेका छन् । यस अर्थमा भन्ने हो भने यस अवधिमा जनपक्षीय पत्रकारिता विकासको बाटोमा नभएर विघटनतर्फको उल्टो दिशातर्फ उन्मुख भइरहेको स्पष्टै देख्न सकिन्छ ।

नेपालको पत्रकारितामा डिजिटल माध्यमहरूको प्रवेशअघि जनपक्षीय पत्रकारिताको सशक्त उपस्थिति थियो । खुला वा भूमिगत रूपमा राजनीतिक परिवर्तनका नेतृत्व गरिरहेका पार्टीहरूका मुखपत्र निकै प्रभावकारी रूपमा प्रकाशित हुने गर्दथे । तिनै पार्टीहरूमा आवद्ध जनवर्गीय सङ्गठन वा मोर्चाहरूका मुखपत्रले जनताका आवाज मुखरित गर्दथे । निरङ्कुश पञ्चायती शासन व्यवस्थाका विरुद्ध जनतालाई सुसूचित गर्ने उद्देश्यका साथ साप्ताहिक पत्रिकाहरूको संस्थागत प्रकाशनारम्भ भएपछि जनपक्षीय पत्रकारिताको आधार तयार भएको थियो ।

०४६ सालको राजनीतिक परिवर्तनपश्चात यिनै साप्ताहिक पत्रिकाहरू नै जनपक्षीय पत्रकारिताको मूलधार जस्तै बन्न पुगे । जनयुद्धको शङ्खघोषपछि भएको जनपक्षीय पत्रकारिताको विकास नेपालका कर्पाेरेट मिडियालाई चुनौती दिने अवस्थामा पुग्यो । वितरण, प्रभाव र विश्वसनीयताका दृष्टिले यो अवधि जनपक्षीय पत्रकारिताको ऐतिहासिक अवधिकै रूपमा अङ्कित हुन पुग्यो । २०६२/६३ को यूगान्तकारी परिवर्तनपछिको केही समयसम्म जनपक्षीय पत्रकारिताको अवस्था हराभरा भए पनि त्यसपछि ओरालो लागेको यात्रा अहिलेसम्म आइपुग्दा पूर्णरूपमा रक्षात्मक बन्न पुगेको छ ।

सोह्रौं शताब्दीको अन्त्यतिर विश्वमा पहिलो पटक पत्रिका प्रकाशन सुरु भएको मानिए तापनि नेपालमा त्यो प्रविधि भित्रन झन्डै दुईसय वर्ष लागेको थियो । तर, पछिल्लो चरणमा विकास भएको डिजिटल प्रविधिको सञ्चार माध्यम यहाँ आइपुग्न तीन वर्ष पनि लागेन । यसले आजको विश्व कति भूमण्डलीकृत बन्न पुगेको छ भन्ने कुरालाई पृष्टि गर्दछ । पत्रकारिताको क्षेत्रमा आएको तीव्रतम बदलाव र प्रविधिको फैलावट नै हिजोभन्दा आज फेरिएको पहिलो तथ्य हो ।

प्रविधिको यो फैलावट जनताको आधारभूत तहसम्म पुगिसकेको छ । यही प्रविधिमार्फत विभिन्न रूप–रङ्गका डिजिटल माध्यमहरूबाट प्रत्येक पल जनतामा नयाँ–नयाँ मनोविज्ञानहरू पैदा भइरहेका छन् । यस्तो अवस्थामा अब परम्परागत ढङ्गबाट मात्रै जनपक्षीय पत्रकारिताको रक्षा हुन नसक्ने कुरा स्वतः स्पष्ट छ ।

सामूहिक व्यवस्थापन असफल हुने तर एकल व्यवस्थापन सफल हुने मोडलको विकास पुँजीवादी सुरुङमा जनपक्षीय पत्रकारिताको मान्यतालाई विलिन गराउने अभ्यासको एउटा अङ्ग हो । सत्ता, पार्टीको शक्ति र आन्दोलनको विरासतमा प्राप्त भएको प्रभावलाई एकल व्यवस्थापनमा प्रयोग गरेर सफलता वा असफलताको मानक बनाउन खोज्नु पनि त्यही अभ्यासको अर्काे निरन्तरता हो ।

प्रविधिको यो दैत्याकार फैलावटमार्फत जनताका आधारभूत तहसम्म सहजै पुगेर विभिन्न माध्यममार्फत प्रशारित सामग्रीहरूले सिर्जना गरेको भ्रमपूर्ण मनोविज्ञानलाई चिर्ने विधिको विकास गर्नु अहिलेको हाम्रो प्राथमिक विषय बनेको छ । यो क्षेत्रमा दिनानुदिन द्रुतत्तर गतिमा विकास भइरहेका नयाँ–नयाँ प्रविधिलाई सिङ्गो मानवजातिको हित एवम् समाज परिर्वतनका पक्षमा कसरी प्रयोग गर्ने भन्ने सिपको विकास आजको हाम्रो मूलभूत विषय बन्न पुगेको छ ।

हिजो जनतालाई जागृत तुल्याउनका लागि भित्तेलेखन पर्चा/पम्प्लेटहरू बढी उपयोगी ठानिन्थे । यसका लागि टाइपराइटर, लिथो, लेटर प्रेस, अफसेट प्रेस हुँदै अघि बढेको जनपक्षीय पत्रकारिताको इतिहास अब एउटै प्लेटफर्ममा अक्षर, तस्बिर, ग्राफिक्स, श्रब्य–दृश्य (मल्टिमिडिया) प्रयोग गर्ने अवस्थामा आइपुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (यन्त्रमानव) को निर्माण र आफ्नो वर्चश्वका लागि तिनको प्रयोगको प्रतिस्पर्धामा रहेका प्रभुत्वशाली राष्ट्रहरूका गतिविधि अब साइवर द्वन्द्वका रूपमा देखापर्न थालेका छन् ।

यसरी हेर्दा प्रविधिको अधिकतम प्रयोगले जनपक्षीय पत्रकारिताको विकासलाई इतिहासको नयाँ घुम्तीमा उभ्याइदिएको छ । यसबेला हामीले ठीक ढङ्गबाट जनपक्षीय पत्रकारिताको मार्गचित्र कोर्न सक्यौं भने हाम्रो प्रयास (जनपक्षीय पत्रकारिता) विकासको उकालो बाटोमा लाग्नेछ । अन्यथा, आज रक्षात्मक अवस्थामा रहेको जनपक्षीय पत्रकारिता इतिहासको विषय मात्र बन्न पुग्ने खतरा दृष्टिगोचर भइरहेको छ ।

प्रविधिको यस प्रकारको विकासले सञ्चारकर्मको दायरा फराकिलो पारेको छ । हिजोको जस्तो महिनौंअघि प्रकाशित सामग्री कुरेर पढ्नुपर्ने अवस्था आज रहेन । जनताको आधारभूत पङ्क्तिमा समेत डिजिटल माध्यम हात–हातमै पुगिसकेको छ । पछिल्लो एक तथ्याङ्कअनुसार नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता मात्रै एक करोड नाघिसकेका छन् । त्यस्तै ट्विटर, युट्युब, ह्वाट्सएप, विच्याट, इन्स्टाग्रामलगायतको प्लेटफर्महरूका प्रयोगकर्ता पनि ह्वात्तै बढिरहेका छन् ।

डिजिटल माध्यमहरूका प्रयोगकर्ता सबैलाई मिलाएर हेर्ने हो भने कूल जनसङ्ख्याको झन्डै साठी प्रतिशत नाघिसकेको अनुमान गर्न सकिन्छ । यी सबै तथ्यहरूले पत्रकारिताको अवस्थालाई नै नयाँ ठाउँमा पुर्‍याएको स्पष्टै देख्न सकिन्छ । त्यसैले, फेरिएको परिस्थितिअनुरूप जनपक्षीय पत्रकारिताको चरित्रको स्पष्ट परिभाषा एवम् यसको सञ्चालनका निम्ति नयाँ विधिको विकास नितान्त जरुरी भइसकेको छ ।

सञ्चार क्षेत्रमा आएको यो प्राविधिक बदलावलाई देखाएर जनपक्षीय पत्रकारिताका आधारभूत मान्यताहरूको भ्रष्टीकरण गर्ने खतरा हाम्रा सामु देखिएको अर्काे चुनौती हो । फेरिएको त केवल वर्गसङ्घर्षको स्वरूप र प्रविधिको विकास मात्र हो; वर्गसङ्घर्षको आधारभूत मान्यता नै फेरिएको कदापि होइन । यसैगरी, जनपक्षीय पत्रकारिताको सैद्धान्तिक मान्यता पनि बदलिएको छैन । तर, प्रविधिको अभूतपूर्व विकासको हवाला दिएर पुँजीवादले तयार पारेको कथित व्यावसायिक पत्रकारिताको अँध्यारो सुरुङभित्र जनपक्षीय पत्रकारिताको मान्यतालाई विलिन गराउने कलात्मक प्रयास निकै जोडतोडका साथ चलिरहेको छ ।

जनपक्षीय पत्रकारिताका सामु व्यवस्थापकीय पाटो ठूलो चुनौतीका रूपमा भने निश्चय नै उभिएको छ । सामूहिक व्यवस्थापन असफल हुने तर एकल व्यवस्थापन सफल हुने मोडलको विकास पुँजीवादी सुरुङमा जनपक्षीय पत्रकारिताको मान्यतालाई विलिन गराउने अभ्यासको एउटा अङ्ग हो । सत्ता, पार्टीको शक्ति र आन्दोलनको विरासतमा प्राप्त भएको प्रभावलाई एकल व्यवस्थापनमा प्रयोग गरेर सफलता वा असफलताको मानक बनाउन खोज्नु पनि त्यही अभ्यासको अर्काे निरन्तरता हो ।

विगतमा पार्टीको लगानीमा जनपक्षीय पत्रकारिताको विकासका लागि गरिएको अभ्यासको असफलता र सोवापत प्राप्त शेयरलाई निजी सम्पत्तिमा रूपान्तरण गरेर यही क्षेत्रमा रमाउने प्रवृत्ति पनि जनपक्षीय पत्रकारितालाई ‘घाटमा पुर्‍याउने मलामी’ हुन् भन्ने कुरा पनि स्पष्टै छ । यद्यपि, यस्ता चिहान खोतलेर मूर्दा निकाल्नुभन्दा पनि जनपक्षीय पत्रकारिताको रक्षा र विकासका लागि यसका सैद्धान्तिक मान्यताहरूमा थि नयाँ बहस आजको आवश्यकता भएको छ ।

विगतमा पार्टीको लगानीमा जनपक्षीय पत्रकारिताको विकासका लागि गरिएको अभ्यासको असफलता र सोवापत प्राप्त शेयरलाई निजी सम्पत्तिमा रूपान्तरण गरेर यही क्षेत्रमा रमाउने प्रवृत्ति पनि जनपक्षीय पत्रकारितालाई ‘घाटमा पुर्‍याउने मलामी’ हुन् भन्ने कुरा पनि स्पष्टै छ ।

जनपक्षीय पत्रकारिताको पहिलो सर्त एजेन्डाहरूको छनोट र प्रचारमार्फत जनतालाई जागृत पार्नु हो । एजेन्डाहरूको छनोट मनोगत रूपमा गर्न सकिँदैन । यसका लागि समाज परितवर्तनको इतिहासको राम्रो ज्ञान हुनु जरुरी छ । तत्कालीन समाजको वर्गस्थिति एवम् अग्रगमन र प्रतिगमनकारी शक्तिको अवस्था बुझेर एजेन्डाको सही छनोट गर्न सकिन्छ ।

प्रतिगमनकारी शक्तिले भ्रमपूर्ण प्रचारमार्फत जनताको भावनामा खेलिरहेका हुन्छन् । परितर्वनका मुख्य एजेन्डाबाट मोड्न जनतालाई छुने सानातिना समवेदनशील विषयलाई उठाएर दिग्भ्रमित पार्ने तिनीहरूको प्रयत्नलाई बिफल पार्न हामीले त्यही स्तरका सामग्रीहरू उत्पादन र सम्प्रेषण गर्ने विधिको विकास गर्न सक्नु पर्दछ ।

पछिल्लो पटक उनीहरू धर्म र संस्कृतिको विषयलाई प्रमुखताका साथ उठाएर परिवर्तनका एजेन्डाहरूलाई ओझेल पार्ने प्रयत्न गरिरहेका छन् । यस्तै विषयलाई उठाएर पश्चगामी शासकीय मनोविज्ञानको निर्माण गर्ने दुस्प्रयास भइरहेको छ । उनीहरूले पत्रकारितालाई पुँजीवादी विचार निर्माण गर्ने कारखानाका रूपमा दुरूपयोग गरिरहेका छन् । यो प्रवृत्तिलाई परास्त गर्न हामीले पनि मिडिया प्लानिङमार्फत एजेन्डा छनोट गर्नु जरुरी छ ।

सञ्चारकर्मलाई वैचारिक हतियारका रूपमा प्रयोग गर्ने तरिका शासकीय चरित्रअनुरूप फरक–फरक हुने गरेको छ । सामन्तवादले यसलाई निजी प्रभावको आधारमा प्रत्यक्ष प्रयोग गर्ने तरिका अपनायो । देखिने र बुझिने गरी कुनै निश्चित शक्तिकेन्द्रलाई प्रत्यक्ष समर्थन गर्ने/गराउने वा उसका पक्षमा मनोविज्ञान निर्माण गर्ने हस्तक्षेपकारी चरित्र सामन्तवादी शासन व्यवस्थाको तरिका थियो ।

यो तरिका प्रयोग गरिँदा कुनै निश्चित पात्र वा संस्थालाई केन्द्र बनाएर ‘दैवी शक्ति’ का भ्रामक कथाहरू कथ्ने र प्रचार गर्ने गरिन्थ्यो । नेपालमा अझै पनि यदाकदा यस्तो अभ्यास हुने गरेको छ । प्रत्यक्ष देखिने र बुझिने यस प्रकारको भद्दा हस्तक्षेपकारी तरिकासँग जनपक्षीय पत्रकारिताको रङ टाढैबाट छुट्टिन्थ्यो ।

तर, पुँजीवादी तरिका योभन्दा फरक ढङ्गले प्रयोग भइरहेको छ । यसले सबैभन्दा पहिलो कुरा त ‘व्यवस्थापकीय कौशल’ मार्फत जनपक्षीय पत्रकारिताको सामूहिक स्वामित्वको सुन्दर चरित्रमाथि आक्रमण गर्न सफल भएको छ । बहुराष्ट्रिय कम्पनीहरूद्वारा भइरहेको विज्ञापन वितरणमार्फत निजी सञ्चार संस्थाहरूको विकास र सार्वजनिक/सामूहिक सञ्चार संस्थाहरूको विनास पुँजीवादको मिडिया नियन्त्रणको एउटा सफल विधि बन्न पुगेको छ । यो विधिको प्रतिरोध गर्न हामीले ‘विकेन्द्रित व्यवस्थापन, केन्द्रित एजेन्डा’ भन्ने नारा अघि सार्नु पर्दछ । निजी व्यवस्थापनमा देशैभरि छरिएर सञ्चालन भइरहेका जनपक्षीय मिडियाहरूमार्फत एजेन्डाहरू केन्द्रित गरेर प्रचार गर्ने विधिको विकासले उसको यो कर्पोरेट तरिकासँग लड्न सकिन्छ ।

मिडिायमा सम्प्रेषण गरिने सामग्रीको कलात्मक प्रयोग पुँजीवादको अर्काे विशेषता हो । उसले सवैभन्दा पहिले जनतालाई आफूतिर आकर्षित गर्ने नाराहरू तय गर्दछ र सोही अनुरूपका सामग्री निर्माण गर्ने गर्दछ । त्यसका लागि विभिन्न प्रविधिहरूको प्रयोगमार्फत सङ्कलि तथ्याङ्कहरूका आधारमा लक्षित समूहहरू निर्धारित गर्दछ । यसरी निर्धारण गरिएका लक्षित समूहलाई फरक–फरक सामग्रीको उत्पादन एवम् वितरणमार्फत उनीहरूमा मनोविज्ञान निर्माण गरेर आफ्नो वर्चश्व कायम गरिरहेको छ ।

जनपक्षीय पत्रकारितामा प्रविधिको यो कलात्मक प्रयोग ज्यादै कम हुने गरेको छ । त्यसैले अबको हाम्रो जोड एजेन्डासहितका कलात्मक सामग्रीको उत्पादन र वितरणमा समेत हुनु पर्दछ; किसान–मजदुरसहित आम उत्पीडित वर्गलाई जागृत र एकताबद्ध पारिरहने सामग्रीको उत्पादन र वितरणमा केन्द्रित गरिनुपर्दछ । नयाँ पुस्तालाई उपभोक्तावादी संस्कृतिमा डुबाउने पुँजीवादी प्रचार संयन्त्रको विकल्पमा विचारधारात्मक दृष्टिले नयाँ विश्वदृष्टिकोण प्रदान गर्ने सामग्रीको उत्पादनमा जोड दिइनु पर्दछ । क्रान्तिकारी नेतृत्वका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारलाई तोड्ने नयाँ प्रचार योजना तय गरिनु पर्दछ ।

वर्गसङ्घर्षको गति मन्द भएको आजको अवस्थामा वैकल्पिक मिडियाको विकास गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ । तर, यो असम्भव विषय भने होइन । यसका लागि प्रेस सेन्टर नेपालको नेतृत्व र सिङ्गो संरचनाको प्रभावकारी परिचालन नै प्रमुख आधार बन्न सक्दछ । पार्टीपङ्क्तिदेखि जनस्तरसम्म अध्ययन–संस्कृति खस्कँदै गएको वर्तमान अवस्थाबाट माथि उठ्न सक्नु अपरिहार्य छ ।

जनपक्षीय पत्रकारिताको रक्षा र विकासका लागि शान्त तलाउजस्तो नभई विचारधारात्मक ज्वारभाटा पैदा गर्ने जुझारु सङ्गठनको आवश्यकता छ । यो गौरवमय महाधिवेशनमा हुने व्यापक विमर्श र छलफलले निश्चय नै आजसम्म जाम भएको ढोका खोल्नेछ र यो सङ्गठनले नेपालमा पुनः एक पटक जनपक्षीय पत्रकारिताको विकासमा कुशल नेतृत्व प्रदान गर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर