newskoseli.Com

न्यायाधीश–वकिल घूस संवाद

अधिवक्ता पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बर न्यायाधीश र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश कोइराला– प्रधानन्यायाधीशले भन्छन् ?

पोखरेल– हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन वचन खेर फाल्न जाने ?

न्यायाधीश कोइराला केही भन्न खोज्छन् तर पोखरेल रोक्दै भन्छन्– हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अरू मान्छे कत्रो गरेर बस्या छन्, तपाईं भने ?

कोइराला– त्यो हो । तर, के भनेदेखि त्यो अब…

पोखरेल– तपाईंले छोड्नुभएन (धरौटीमा) भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दाको अभियोगपत्र हेरेर कुनचाहिँ माइकालालले पैसा खाएर यति गर्‍यो भन्ने खालको छ ? अभियोगपत्र नै त्यस्तो बनाएको छ । सहकारी ऐनवमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । तर, ठगी त केही गरी ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

कोइराला– त्यो कुरामा म कन्भिन्स छु तर पीडितहरू रोएका छन् ।

पोखरेल कुरा काट्दै भन्छन्– त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । न्यायाधीश कोइराला जाहेरवालाको वकिल को हो भनेर सोध्छन् । जवाफमा पोखरेलले रमेश बडाल भएको बताउँछन् ।

कोइराला– त्यसले गर्दा (घूस खाएर फैसला गर्दा) फेरि सुन्नुस् न बर्बाद हुन्छ नि ।

पोखरेल– केही हुन्न । माथि म गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो, हगि । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैं आउँदैन ।

न्यायाधीश कोइराला हाँस्छन् ।

पोखरेल– ठाउँ छ (घूस खान मिल्ने) ।

कोइराला– प्रधानन्यायाधीशले भन्छन् त उनलाई ?

पोखरेल– भन्छन्, म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

कोइराला– ल हेरौं न ।

पोखरेल– ल हेरौं न होइन, मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भन्ने त ? सामान (घूस) पनि ल्याओ भन्नुपर्‍यो । त्यत्तिकै फोकटमा त किन गर्ने ? माथि म मिलाउँछु, त्योभन्दा बाहिर एक्सपोज हुँदैन ।

कोइराला– धरौटी कति माग्ने भन्नु त ?

पोखरेल– १० करोडको हाराहारीमा ।

कोइराला– अप्ठ्यारो पर्दैन ? जागिर जान्छ त ।

पोखरेल– पर्दैन–पर्दैन, सधैं यस्तो आउँदैन । यस्तो बेलामा एक–दुईवटा सिद्धान्त छाँट्ने । पीडितको हितमा पनि लेख्ने । (तामाङको) पासपोर्ट रोक्ने । एक–दुई आइडिया निकालौंला नि हजुर । यतातिर झ्याप्य्राक्कै २ जति लिऊँ न ।

न्यायाधीश कोइराला समर्थनमा अँ… भनेर हाँस्छन् । फेरि पोखरेललाई सोध्छन्– माथिबाट (प्रधानन्यायाधीशले) गर्छ त ?

पोखरेल– अहिले गएर मैले नमस्ते गरेर यति काम तैंले गर्नुपर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ? पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ हैन त ?

कोइराला– मिडियाले के लेख्ला फेरि ? नारा–जुलुस गर्लान् कि ?

पोखरेल– त्यो केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आत्तिएको ?

कोइराला– त्यो त हो कि । ठीकै छ । माथिबाट भन्नु न । १ नम्बरलाई भन्नु न ।

पोखरेल– ठीक छ, म भन्न लगाउँछु । पैसा म बेलुका समातिसक्छु ।

कोइराला– ठीक छ । १० करोडभन्दा धरौटी ५० करोड माग्नुपर्छ कि ?

पोखरेल– ५० करोड माग्नुभन्दा त यसै थुने भइगयो त्यसलाई ।

कोइराला– सुन्नु न पत्रिकामा आउँछ कि ? डर लाग्छ । जागिर खान्छन् कि भन्ने डर लाग्छ ।

पोखरेल फेरि ढाडस दिन्छन्– कसरी खान्छन् हो जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनि कसरी जागिर खान्छ ?

कोइराला– सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?

पोखरेल झर्किन्छन्– कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मान्छे न्यायाधीश भएको के काम ? पत्रिकामा आउने यो–ऊ गर्ने हो भने त त्यसै तारिखमा छोड्नुपर्ने मान्छे छ । इस्युका आधारमा त तारिखमै छोड्नुपर्ने ।

न्यायाधीश आफू डराएकै बताउँछन् । उनी भन्छन्– भोलि पत्रिकामा आएर छ्याल्लब्याल्ल भएर केही भयो भनेदेखि ?

पोखरेल भने उल्टै थर्काउँछन्– त्यसोभए किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भए हुन्थ्यो ।

कोइराला हाँस्दै भन्छन्– तान्दाखेरि परेको क्या ।

पोखरेल पीडितको पक्षमा पनि आदेशमा लेख्ने कुरा सुझाउँछन् । भन्छन्– उनीहरूको पक्षमा पनि दुई–चारवटा कुरा लेखौंला नि हजुर । विदेश जान नपाउने, पासपोर्ट ऊ (जफत) गर्ने, उसमा (नेपालभित्रै) बस्नुपर्ने । के–के हुन्छन् मलाई सबै के थाहा हुन्छ र हजुरलाई सबै आइडिया छ नि ।

पोखरेल थप बोल्छन्– प्रधानन्यायाधीशसँग टाइम लिऊँ ?

प्रधानन्यायाधीशले भन्छन् कि भन्दैनन् भन्ने जिज्ञासा न्यायाधीश कोइरालाको हुन्छ ।

जवाफमा पोखरेल भन्छन्– शतप्रतिशत भन्छ । १ नम्बरलाई बोलाएर भन्छ । राजुलाई बोलाएर भन्छ । राजुले तपाईंलाई भन्छ ।

सेटिङका लागि प्रधानन्यायाधीशलाई भेट्न सहमति दिँदै न्यायाधीश कोइराला जवाफ दिन्छन्– ल भन्नु न त । जे गरौंला–गरौंला ।

बिट मार्दै पोखरेल भन्छन्– ल मैले सुरु गरें है । त्यहाँबाट आएपछि हजुरले पछि हट्न पाइसिन्न नि । अरूसँग, धेरै जनासँग कुरा नगरिस्यो नि फेरि । तपाईं–म मात्र ।

न्यायाधीश कोइराला हाँस्दै जवाफ फर्काउँछन्– पैसाको कुरा गर्दै गर्दिनँ नि ।

फेरि कुरा लम्बिन्छ र अधिवक्ता पोखरेल न्यायाधीश कोइरालालाई तरीका सिकाउँछन्– अम्बिका–सम्बिका (अम्बिकाप्रसाद निरौला) सँग कुरा भयो भने त फेरि कहाँ–कहाँ पुग्छ ।

अरू न्यायाधीशसँग कुरा भयो भने दुवै जना सकिने कोइरालाको भनाइ हुन्छ– तपाईं र मेरो सकिने कुरा हो नि यो त ।

बिहीबारको कान्तिपुर दैनिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर