बेलायतको पल्मस्टिड गेसो हलमा वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।
युकेमा रहेका विभिन्न आठ साहित्यिक संस्थाको संयुक्त आयोजनामा आज बिहान सम्पन्न गोष्ठीमा तीन दर्जन कविले वातावरणसम्बन्धी सिर्जना वाचन गरेका थिए ।
युकेमा वातावरण अधिकृतका रुपमा सेवारत वातावरणविद् विजय हितानले वातावरण साहित्यका बारेमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो भने सहभागीहरुले टिप्पणी तथा सुझाव राखेका थिए । त्यस्तैगरी वातावरण पत्रकार नवीनसिं खड्काले वातावरणमा परिरहेको असरका बारेमा श्रव्यदृष्यसहित जानकारी दिएका थिए ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित गोष्ठीलाई नयाँ ढङ्गबाट सञ्चालन गरिएको थियो । कार्यक्रमका सभापति गमलामा राखिएको लालीगुराँसको फूललाई बनाइएको थियो भने जङ्गली जनावर बाघ, गैँडा, हात्तीका मूर्ति अतिथिका रुपमा राखिएका थिए । कसैलाई पनि खादा र अतिथिको बिल्ला वितरण गरिएको थिएन । सञ्चालिकाले पालैपालो कविता वाचनको निम्ति स्रष्टालाई बोलाइन् । स्रष्टाले भटाभट सिर्जना मात्र वाचन गरेका थिए ।
वातावरणसम्बन्धी उत्कृष्ट कविता वाचन गर्ने सन्तोष कार्कीलाई सभापतिका रुपमा राखिएको लालीगुराँस पुरस्कारका रुपमा दिएपछि पनि अन्तिमका वक्ताहरुले सम्बोधन गर्न छाडेनन् । युकेका नेपालीमाझ यस्तो ढङ्गको कार्यक्रम पहिलो हो । विश्वभर प्रत्येक वर्षको ५ जुनका दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ ।
नेपाली साहित्य विकास परिषद्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, एनआरएन भाषा साहित्य विभाग, समकालीन साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज आयोजक रहेका थिए । परिकल्पना, समन्वय तथा प्रायोजक विश्व नेपाली साहित्य महासङ्घ रहेको थियो ।
गोष्ठीमा डा. कविताराम श्रेष्ठ, प्रा सुमाया राई, खगेन्द्र नेपाली, एकेन्द्र गुरुङ, नरेशमणि काङ्माङ, नारायण गाउँले, विनोद न्यौपाने, सुशील प्रजापति, करिस्मा घम, सङ्गम भण्डारी, सन्तोष कार्की, गोकुल भण्डारी, भावना सुनुवार ‘परिष्कृत’, दुर्गा पोखरेल, मोती भण्डारी, सुजी गुरुङ, सूर्य गुरुङ, फणीन्द्र भट्टराई, रेशम अर्याल, सुशीला कार्की, शारदा गुरुङ, मञ्जु भण्डारी, घनबहादुर थापा, औतारी साइँलालगायत द्वय विश्वास दीप तिगेला र सुमलकुमार गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापनसहित सिर्जना पस्केका थिए भने सुरेन्द्र इङ्नाम र थिर थापामगरले गीत–सङ्गीत प्रस्तुत गरे।
यस गोष्ठीलाई बिएफबिएस गोर्खा रेडियो, रेडियो बिजिडब्लुएस, गोर्खा च्यानल, एभरेष्ट टाइम्स, नेपालीपत्र, नेपालीसमाचारडटकम, नयाँसमाचारडटकम, विनेपालीडटकम र नेपालब्रिट्रेनडटकम लगायतले मिडिया पार्टनरका रुपमा सहयोग गरेका थिए ।
वातावरणविद् हितानले भर्खरै मात्र संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमसँग विश्व नेपाली साहित्य महासङ्घको तर्फबाट विश्वव्यापी साहित्यिक क्रियाकलाप गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए । रासस