newskoseli.Com

घट्दो क्रममा चलचित्रको निर्माण : यस्ता छन् कारण

अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेका चलचित्रको सङ्ख्या नै कम देखिन्छ । पानी पर्ने समय भएकाले पनि यसबेला ‘स्टुडियो’ भन्दा बाहिर छायाङ्कन गर्न सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको चलचित्र निर्माताहरुको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्का बताउँछन् ।

‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ, चलचित्र क्षेत्र पनि त्यसबाट अछुतो छैन,’ अध्यक्ष खड्का भन्छन्– ‘सबभन्दा पहिले त गाँस, बास र कपास हो, त्यसपछि मात्रै मनोरञ्जनको कुरा आउँछ ।’ चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले यसअघि पनि चिन्ता व्यक्त गरेको थियो ।

‘विविध कारणले गर्दा चलचित्रको निर्माण लागत बढिरहेको छ, बजारबाट न्यूनतम रुपमै भए पनि व्यापारबाट आउने आम्दानीको कुनै मापन नै छैन’– खड्काको भनाइ छ । अहिले बजार बुझ्न सहज नरहेको चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ छ । ‘पहिले चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो, हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो तर अहिले त्यो छैन’– निर्देशक देउजाले भने ।

देउजा पनि यतिबेला चलचित्रको पटकथामा व्यस्त छन् । चलचित्रको व्यवसाय मात्र होइन, निर्माण संख्या समेत घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनको क्रममा छन् । केही निर्माता भने ‘पर्ख र हेर’ को अवस्था रहेका छन् ।

सम्भावना बोकेका नेपालीसहित केही विदेशी चलचित्रहरु आउँदो भदौदेखि प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए ।

‘अहिले धेरै तथ्य बुझेर मात्र दर्शकहरु चलचित्र भवनमा आउने गरेको पाएको छु, चलचित्र हेर्न जाऊँ न त भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ,’ महर्जन भन्छन्– ‘दसैं आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तीब्रता आउने छ ।’ चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गतवर्ष २०७९ मा ५२ वटा नेपाली चलचित्र प्रदर्शन भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर