newskoseli.Com

दुवै हात गुमाएका सुदर्शनको मुख्य भूमिकामा अर्को चलचित्र

विद्युतीय झड्कामा परी दुवै हात गुमाएका गुन्सीभदौरे– १, रामेछापका युवक सुदर्शन गौतमले प्रमुख भूमिकामा  अभिनय गर्न लागेको चलचित्र ‘हिम्मतवाला’ (बहादुर मानिस) को फस्र्टलुक पोस्टर र शुभमुहुर्त गरिएको छ ।

क्यानडा र अमेरिकामा छायांकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोस्टरलाई सीएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी थिइन् ।

क्यानडाको मिसेसागा सिटीको पार्क इन् र्याडिसन होटलमा आयोजित ‘सुपर कमेडी मेगा नाइट’ मा अनुराधा कोइराला, हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलालगायतले संयुक्त रुपमा चलचित्र हिम्मतवालाको पोस्टर सार्वजनिक गरेका हुन् ।

himmatwala3 himmatwala1सोही क्रममा टंक बुढाथोकीको स्वर र संगीतमा सजिएको ‘म हुँ हिम्मतवाला’ गीत पनि सार्वजनिक गरिनुका साथै उक्त गीतमा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । पुराना निर्देशक हरि शिवाकोटीले निर्देशन गर्न लागेको यस चलचित्रमा नायक सुदर्शन गौतम एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

सार्वजनिक गरिएको पोस्टरमा सुदर्शन एक्लै देखिएका छन् । यसअघि चलचित्रलाई ईश्वर थापाले निर्देशन गर्ने कुरा थियो तर केही प्राविधिक कारणले गर्दा हरि शिवाकोटीले निर्देशन गर्ने टुंगो लागेको हो ।

दर्जनौ चर्चित पुस्तकहरु समेत लेखिसकेका हरि शिवाकोटीले ‘सौता’, ‘वेदना र मुक्ति’, अमेरिकामा निर्मित पहिलो नेपाली चलचित्र ‘इस्टमित्र’, क्यानडामा निर्मित चलचित्र ‘मैले विरोध गरेको छैन’ लगायतका चलचित्रहरु निर्देशन गरिसकेका छन् ।
सार्वजनिक गरिएको चलचित्र ‘हिम्मतवाला’ कोे पोस्टर हेर्दा सुदर्शन फरक भूमिकामा प्रस्तुत हुन लागेको सजिलै अनुमान गर्न सकिन्छ । चलचित्र हिम्मतवालीमा पहिलो पटक काम गरेर चर्चा बटुलेका सुदर्शनले आफू यस चलचित्रमा बिल्कुलै फरक भूमिकामा देखिन लागेको कार्यक्रममा बताए ।

चलचित्रको छायांकन अगष्टदेखिसुरु हुँदैछ । कानी मल्टीभिजन आईएनसी र जीटीए लाइन्स क्लबको संयुक्त आयोजनामा भएको ‘सुपर कमेडी मेगा नाइट’ मा सहभागी हुनका लागि नेपालबाट माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, हास्यकलाकार दिपकराज गिरी र दीपाश्री निरौला क्यानडा पुगेका थिए । समाजमा रहेर उत्कृष्ट काम गर्ने करिव ३० जनालाई उक्त सुपर मेगा कमेडी नाइटमा अभिनन्दन समेत गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर