newskoseli.Com

टानको ‘गोसाँइकुण्ड–लाङटाङ्’ ऐतिहासिक म्याराथन सम्पन्न

संसारभरिका पर्यटकले ‘हेभन विदिन अर्थ’ अर्थात् ‘धर्तीभित्रकै स्वर्ग’ भनेर चिन्ने गरेको नेपालमा सयौं यस्ता ठाउँहरु छन्, जीवनमा एक पटक ती ठाउँहरुको भ्रमण र अवलोकन गर्न पाइएन भने मनिसहरुले आफ्नो जीवन सार्थक हुन नसकेको अनुभूति गर्दछन् ।

लाङटाङ हिमशृङ्खला र गोसाइँकुण्ड क्षेत्र पनि ठ्याक्कै यस्तै मनोरम, चित्ताकर्षक र जीवनमा एक पटक पुग्नैपर्ने र घुम्नैपर्ने क्षेत्र हुन् भन्ने कुरा सबै नेपालीलाई थाहा छ ।

हालै ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको गोसाइँकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

गत वर्षको विनाशकारी भूकम्पले यस क्षेत्रमा पनि ठूलै नोक्सानी पुर्‍याएको थियो । जसबाट विदेशी पर्यटकहरुमा नकारात्मक असर परिरहेको छ । भूकम्पले सबै पदमार्ग  तथा विश्रामस्थलहरु समेत ध्वस्त पारेको छ भन्ने नकारात्मक सन्देश प्रवाह भइरहेको समयमा ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) ले ऐतिहासिक रुपमा गोसाइँकुण्ड–लाङटाङ हाफ म्याराथन सम्पन्न गरेकाे हाे ।

lantang-mara

२९ मेको बिहान ७ बजेर ५५ मिनेटमा गोसाँइकुण्डबाट  सुरु भएको म्याराथन लौरीविनायक, चोलाङपाटी, चन्दनबारी, धिम्सा, देउराली, घट्टेखोला हुँदै २१ किलोमिटरको दुरी पार गरी धुन्चेमा पुगेर समापन भएको थियो ।

२१ किलोमिटरको दुरी १ घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै नेपाली सेनाका भरत खत्री प्रथम भए । १ घन्टा २३ मिनेटमा सो दुरी पूरा गर्दै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वितीय तथा जुम्लाका गोविन्दप्रसाद अधिकारी १ घन्टा २३ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै तृतीय भए ।

1

त्यस्तै, महिलातर्फको प्रथम उपाधि रसुवाकी फूलमाया स्याङ्बाेले हात पार्न सफल भइन् । उनले २१ किलोमिटरको दुरी २ घन्टा ७ मिनेटमा पार गरेकी थिइन् ।

सिन्धुपाल्चोककी कमला तामाङ २ घन्टा १८ मिनेट ५३ सेकेन्डमा पार गर्दै दोस्रो उपाधि जित्न सफल भइन् भने बन्दना विकले  २ घन्टा २२ मिनेट १७ सेकेन्डमा सो दुरी पार गर्दै तेस्रो उपाधि जित्न सफल भइन् ।

धुन्चेको बालविकासको आँगनमा आयोजित समारोहमा टानका वरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङ र रसुवाका प्रमुख जिल्ला अधिकारी केसीले विजेतालाई प्रमाणपत्र तथा चेक प्रदान गरे ।

महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय तथा तृतीय हुने विजेतालाई प्रमाणपत्र तथा क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

01

 

मनाेरम प्रकृतिले भरिपूर्ण रसुवाको यो क्षेत्रमा गत वर्षको विनाशकारी भूकम्पपश्चात थोरै पर्यटकहरु मात्र आउन थालेका थिए ।

‘टानले आयोजना गरेको यो प्रचारात्मक कार्यक्रमले गर्दा पर्यटकको संख्या बढ्ने कुरामा ढुक्क छु’ प्रथम विजेता भरत खत्रीको भनाइ छ । उनले भने– ‘केही दिनदेखि नियमित तयारी गरेकाले यो  उपाधि जित्न सकेकोमा खुशी लागेको छ ।’

त्यस्तै महिलातर्फकी प्रथम विजेता फुलमाया स्याङ्बाेले पहिलो सहभागितामै प्रथम हुने मौका पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्–’पहिलो पटक गोसाँइकुण्ड गएकी थिएँ, जित्छुजस्तो नलागे पनि महिलाहरुको सहभागिता कम भएकाले मलाई सहज भएको हो ।’ बाटो साँघुरो र अति नै अप्ठ्यारो भएकाले यसको विकासतर्फ सचेत हुनुपर्ने स्याङ्बाेको भनाइ छ ।

टानका मिडिया कोअर्डिनेटर सूर्यबहादुर घिमिरेका अनुसार यो म्याराथनमा ५ जना विदेशी, २३ जना महिलासहित जम्मा १ सय ३ जनाको सहभागिता रह्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर