म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् ।
विद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् । त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दियालो प्रयोग गर्दै आएका थिए ।
रु. ३५ लाख ३६ हजार लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरङ्जा–९ मा पर्ने धापुङ र महेशगाउँका १ सय १ घरधुरी लाभान्वित भएको हो ।
नेपाल विद्युत् प्राधिकरण र जिविसको दश/दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको रु.८ लाख ८ हजार लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताए ।रासस