newskoseli.Com

‘लुम्बिनीपछिको दोस्रो बौद्ध–गन्तव्य काँक्रेबिहार’

लुम्बिनीको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार र सरोकारवालासँग अन्तर्क्रिया गर्दै मध्यपश्चिम र सुदूरपश्चिमतर्फ हिँडेको लुम्बिनी प्रेस क्लब नेतृत्वको एक टोली बिहीबार चिसापानी पुगेको छ ।

सुदूरपश्चिमको प्रवेशद्वार, कर्णाली नदीको छेउमा रहेको पर्यटकीय गन्तव्य चिसापानीमा लुम्बिनीको पर्यटन प्रबर्द्धनसम्बन्धी गोष्ठी आयोजना गरेको क्लबले त्यस क्षेत्रको पर्यटकीय गन्तव्य र लुम्बिनीलाई पर्यटनको मालामा गाँसी योजनाबद्ध विकास गर्ने निष्कर्ष समेत निकालेको छ ।

चिसापानीमा आयोजित वृहत् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली होटल व्यवसायी संघका कोषाध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले चिसापानी आउने पर्यटकलाई लुम्बिनी जाने र लुम्बिनी आउने पर्यटकलाई चिसापानी जाने गरी दोहोरो व्यवस्थापनसहित प्रचारप्रसार गरेमा पर्यटकीय आधारमा नै मुलुकले काँचुली फेर्ने बताए ।

कोषाध्यक्ष देवकोटाले राज्यले चिसापानी क्षेत्रलाई खासै ध्यान नदिएको जनाउँदै पर्यटकहरुका लागि आवश्यक न्यूनतम पूर्वाधार समेत व्यवस्था गर्न नसक्दा खिन्नताबोध हुने गरेको पनि बताए ।

कर्णाली सरसफाई तथा उपभोक्ता मञ्चका अध्यक्ष लभदेव भट्टले चिसापानीदेखी राजकाँडासम्म ट्रेकिङ खोल्न पहल गरिएको जनाउँदै अहिलेसम्म कर्णाली नदी र पुल मात्रै चिसापानीको ‘पर्यटकीय प्रडक्ट’ भएको जनाए ।

अध्यक्ष भट्टले विश्व पर्यटनको केन्द्र लुम्बिनीको सामीप्यतासँगै चिसापानीलाई जोड्न सकेमा कैलालीको मुहार फेरिने समेत तर्क गरे । होटल व्यवसायी पदम भण्डारीले कर्णालीमा र्‍याफ्टिङ , एक पिल्लरे नमूना पुल, कर्णालीको माछा, स्थानीय उत्पादनको खानाका परिकारले स्वदेशी तथा विदेशी पर्यटकलाई चिसापानीमा बसाउने योजना बनाउने कार्यमा सहयोग गर्न लुम्बिनीवासीलाई आग्रह गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डा. शान्तकुमार शर्माले उद्योगी व्यवसायीका तर्फबाट लुम्बिनी र मध्यपश्चिमत एवं सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई एकअर्कामा जोड्न संघले पहल गर्ने जनाए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले स्थानीय उत्पादन र संस्कृति तथा प्रकृतिप्रदत्त क्षेत्रलाई संरक्षण–सम्बर्द्धन र प्रबर्द्धन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष ढुंगानाले ऐतिहासिक–सांस्कृतिक महत्वको लुम्बिनीलाई सुदूरपश्चिमको पर्यटकीय गन्तव्यसँग जोड्न प्रेस क्लबले सुरुआत गरेको बताए ।

जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवालीले देशभरिका जिविसहरुले पर्यटकीय क्षेत्रलाई व्यवस्थित गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीको ऐतिहासिकता र पर्यटकीय महत्वको बारेमा प्रकाश पार्दै जीवनमा एक पटक लुम्बिनीको भ्रमण गरेमा मात्रै पनि शान्ति र समृद्धिका लागि इँट्टा थपिने बताउँदै लुम्बिनीको स्थलगत अवलोकनका लागि सुदूरपश्चिमेली जनतालाई विनम्र अनुरोध गरे ।

DSC_3433प्रेस क्लबका महासचिव नरेश केसीको सञ्चालन तथा उपाध्यक्ष मनोरञ्जन शर्माको स्वागतमन्तव्यसहित सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी पर्यटन प्रबर्द्धन विकास समितिका अध्यक्ष तुलसीप्रसाद चौधरी, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोपबहादुर रायमाझी, नागरिक अगुवा भरतकुमार पोखरेल, सिद्धार्थ ट्राभल एण्ड टुर एजेन्सीका अध्यक्ष सागर अधिकारी, सिद्धार्थ होटल एशोसियसनका उपाध्यक्ष मिथुनकुमार श्रेष्ठ, सिद्धार्थ नगरपालिकाका अधिकृत देवप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य तथा पर्यटन क्षेत्र संयोजक गोविन्द ज्ञवाली, जेसीआई सिद्धार्थ लेडिजका अध्यक्ष रचना शर्मालगायतको आतिथ्यता थियो ।

कार्यक्रम लुम्बिनी प्रेस क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको प्रबर्द्धनमा भएको थियो । प्रेस क्लबको नेतृत्वमा भएको सुदूरपश्चिम र मध्यपश्चिममा प्रचारप्रसार तथा सुर्खेत र चिसापानीमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममलाई लुम्बिनी विकास कोष, दक्षिण एशिया पर्यटन पूर्वाधार विकास योजना, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिविस रुपन्देही, सिनपा भैरहवा, शान, साट्टा र लुम्बिनी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिले सहयोग गरे ।

‘लुम्बिनीपछिको दोस्रो बौद्ध–गन्तव्य काँक्रेबिहार’

यसैबीच टोलीले सुर्खेतको काँक्रेबिहारलाई बुद्ध जन्मस्थल लुम्बिनीपछिको दोस्रो बौद्ध गन्तव्यका रुपमा विकास गर्न सकिने निष्कर्ष निकालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषले नै काँक्रेबिहारलाई संरक्षण गर्नुपर्ने धारणा छ ।

लुम्बिनी प्रेस क्लब भैरहवाले सुर्खेतमा आयोजना गरेको आन्तरिक पर्यटन प्रबर्द्धनमा सञ्चार अभियान विषयक अन्तक्र्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो । काँक्रेबिहार नेपालमा रहेका बौद्ध सम्पदाहरुमध्येको महत्वपूर्ण क्षेत्र मानिन्छ । यो क्षेत्रमा ढुंगामा कुँदिएका बौद्ध आकृति, महत्वपूर्ण प्राचीन बौद्ध सम्पदा र भग्नावेशषहरु छन् ।

काँक्रेबिहारको पर्यटकीय विकासका लागि लुम्बिनीका पर्यटन व्यवसायीको समेत सहयोग जरुरी रहने भन्दै लुम्बिनी र काँक्रेबिहारलाई जोडेर टुर प्याकेज बनाउनुपर्ने, लुम्बिनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने, लुम्बिनी–सुर्खेत सिधा हवाइउडान सञ्चालन गर्नुपर्नेलगायतका निष्कर्ष अन्तर्क्रियाको छ ।

काँक्रेबिहारमा रहेका प्राचीन बाैद्ध सम्पदाहरुको अध्ययन, अन्वेषण र संरक्षणका साथै यसको व्यवस्थित गुरुयोजना बनाउन सके लुम्बिनी आउने पर्यटकहरुलाई काँक्रेबिहार ल्याउन सकिने धारणा सहभागीहरुको थियो ।

कार्यक्रममा बौल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले लुम्बिनीदेखि सुर्खेत हुँदै सुदूरपश्चिमसम्म रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके लुम्बिनी आउने लाखौं पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए ।

उनले लुम्बिनीदेखि सुदूरपश्चिमसम्म पाइला–पाइलामा पर्यटकीय स्थलहरु रहेकाले लुम्बिनी आउने पर्यटकलाई पश्चितर्फ डाइभर्ट गर्ने योजना अघि सार्नुपर्ने धारणा राखे । लुम्बिनी हुँदै पाल्पा–गुल्मी–अर्घाखाँची–स्वर्गद्वारी–दाङ–बाँके राष्ट्रिय निकुञ्ज–सुर्खेतको काँक्रेबिहार–बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै शुुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र माथिल्लो भागमा ढोरपाटन र रारा राष्ट्रिय निकुञ्जसम्म पर्यटक पुर्याउने योजना अघि सार्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै मध्यपश्चि बौद्ध विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्लले लुम्बिनीको पर्यटनका सम्भावनासंग जोड्न सके पछाडि परेको मध्य र सुदूरपश्चिम छिटै माथि उठ्ने धारणा राखे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले  काँक्रेबिहारलाई थप उत्खनन गरी सानो लुम्बिनीका रुपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले भग्नावशेषको रुपमा रहेको काँक्रेबिहारलाई पुनर्निर्माण गर्ने काम भइरहेकाले यसलाई लुम्बिनी र तिलौराकोटसँग जोडेर प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । सुर्खेतको काँक्रेबिहार र बुलबुले ताललाई जोडेर पर्यटन व्यवसायमा लगानी गर्न यहाँका व्यवसायीहरु लालायित रहेको धारणा राखे ।

सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष ध्रुव चपाईंले सुर्खेतका पर्यटकीय क्षेत्रहरुलाई जोडेर गुरुयोजना बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्यसचिव हरिध्वज राइले पर्यटन प्रबर्द्धनका लागि पर्यटकहरुलाई कौतुहलता सिर्जना गर्नुपर्ने बताए । लुम्बिनी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले काँक्रेबिहारको पर्यटन प्रबर्द्धनका लागि लुम्बिनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरुको विकास जरुरी रहेको बताए ।

जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवाली र प्राध्यापक भरतराज पोखरेलले लुम्बिनी र सुर्खेतका पर्यटन व्यवसायी मिलेर दुवै क्षेत्रको पर्यटन विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । सिद्धार्थ टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष सागर अधिकारीले बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एकीकृत विकासका लागि सरकारले एकीकृत योजना बनाउनुपर्ने धारणा राखे । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष डा. शान्तकुमार शर्माले लुम्बिनीबाट सुर्खेत हुँदै रारा तालसम्म पुग्ने रुटको विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासले गति लिने धारणा राखे ।

नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दिपक बुढाले सुर्खेतको पर्यटन विकासका लागि पत्रकारहरुले सकारात्मक समाचार सम्प्रेषण गर्नु जरुरी रहेको बताए । लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवाली र मिथुनमान श्रेष्ठले लुम्बिनीको टुर प्याकेजमा काँक्रेबिहारलाई समेत समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पदमबहादुर शाहीले सुर्खेतको समग्र विकासका लागि गुरुयोजना जरुरी रहेको र गुरुयोजना तयार पार्दा बौद्ध संस्कृतिलाई झल्काउनु जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै व्यवसायी टोपबहादुर रायमाझी, चिन्तामणि शर्मा, गोविन्द कोइराला, हरिप्रसाद अधिकारी, टंकप्रसाद लामिछाने, तर्कबहादुर शाही, प्रकाश पौडेल, यमलाल गिरी, दीपेन्द्र शर्मालगायतले बोल्दै लुम्बिनी र सुर्खेतको पर्यटनलाई जोड्दा पश्चिमका सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर टुर प्याकेज निर्माण गर्नुपर्ने धारणा राखे ।

सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले अन्तर्क्रियाको निष्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागि लुम्बिनी क्षेत्रका पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका खेलिररहेको बताए ।

प्रेस क्लबका महासचिव नरेश केसीले लुम्बिनी र सुर्खेतको काँक्रेबिहारको एकीकृत योजना निर्माणका लागि पत्रकारहरुले दबाव दिनुपर्ने धारणा राखे । लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रमको प्रबर्द्धक नेपाल पर्यटन बोर्ड थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर