newskoseli.Com

प्रभावकारी बन्दै जलवायु परिवर्तन सहयोग कार्यक्रम

जलवायु परिवर्तनका असर तथा प्रभावहरुसग स्थानीय जनताहरुको अनुकूलित हुने क्षमता अभिबृद्धिका लागि सुदूरपश्चिममा कार्यान्वयन भइरहेको स्थानीय अनुकूलन कार्ययोजना लापा प्रभावकारी बन्दै गएको छ ।

जलवायु परिवर्तनको जोखिममा रहेका अछाम, बाजुरा र कैलालीमा आर्थिक वर्ष २०७०/७१ बाट कार्यान्वयन भइरहेको यो कार्यक्रमले स्थानीयस्तरमा दिगो तथा वातावरणमैत्री विकासका लागि सहयोग गरिरहेको छ ।कृषि, पशु सेवा तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, वैकल्पिक उर्जा, जलवायुजन्य प्रकोप व्यवस्थापन, मानवीय श्रोत, क्षमता विकास तथा जिविकोपार्जन र मानव स्वास्थ्यका क्षेत्रमा यस कार्यक्रम गरिरहेको छ ।

सुदूरपश्चिमका तीन जिल्लाका तीन नगरपालिका र २० गाविसमा यस कार्यक्रमले जलवायु अनुकूलन तथा न्यूनिकरण र संकटासन्न क्षेत्रका विपन्न जनताहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वनमा जोड दिइरहेको कार्यक्रमका क्षेत्रीय संयोजक सीता शाहीको भनाई छ ।

बाजुरा र अछाममा जनताहरुको दैनिकीसंग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु सिँचाई कुलो निर्माण, सुधारिएको पानी घट्ट, कुटानी पिसानीका लागि अत्याधुनिक मिल निर्माण, सुधारिएको चुल्हो, उन्नत जातका राँगा तथा बोका, मौरीका घार तथा कृषि विउ वितरण गरिरहेको छ । यता कैलालीमा डुबान तथा बगरमा अनुकूलित हुनसक्ने सुख्खा सहने बाली, वगरखेती, उच्च धारा तथा उच्च भवन निर्माण, जैविक तटबन्धन लगायतका क्षेत्रमा विपन्न जनताहरुलाई सहयोग गरिरहेको जिल्ला विकास समिति कैलालीका ऊर्जा अधिकृत दिपेश ठाकुरले जानकारी दिनुभयो ।

‘पानीका मुहान सुक्दै गएपछि आकाशे पानीको भरमा खेतीपाती गर्दा निकै समस्या हुन्थ्यो’ ब्रह्मतोला गाविस–७ बसालीका खडक अधिकारीले भने,‘अहिले जलवायु परिवर्तन सहयोग कार्यक्रमले सिचाइँ कुलो निर्माण गरिदिएपछि अलि सहज भएको छ, अब समयमा खेती र केही उब्जनी हुने आशा जागेको छ ।’

अधिकारी मात्र होईन कार्यक्रम लागू भइरहेको अछाम, बाजुरा र कैलालीका अधिकांश क्षेत्रका विपन्न जनताहरुले विकास संगसंगै वातावरण संरक्षण र दिगो विकासका लागि वातावरणमैत्री व्यवहार गर्न पनि आफुहरुलाई सचेत बनाएको भन्दै कार्यक्रमको प्रशंसा गरिरहेका छन् ।

‘हामीलाई लाग्थ्यो जसरी पनि विकास त गर्ने हो नि ! वन जंगल हाम्रै लागि त हो, जसरी पनि प्रयोग त गर्ने हो’ अछाम घोडासैनका टेकबहादुर विष्टले भने, ‘अहिले आँखा खुलेको छ वन, वातावरण रहे पो हाम्रो अस्थित्व रहन्छ । हामीले प्रकृतिमैत्री व्यवहार गरेमा मात्र हाम्रो भविष्य सुरक्षित छ । सायद पहिले सोचेको भए जलवायु परिवर्तन हुँदैनथ्यो होला ।’

स्थानीय जनताहरु मात्र होईन स्थानीय निकायका कर्मचारी पनि कार्यक्रमले विकासका लागि सकारात्मक सन्देश दिन सफल भएको धारण राख्छन् । ‘जिविसमा थुप्रै कार्यक्रमहरु आउँछन् जान्छन तर जलवायु परिवर्तन सहयोग कार्यक्रमले हरेक क्रियाकलाप जलवायु परिवर्तन अनुकूलन र वातावरणमैत्री विकास लागि जोड्दिन्छ’ जिल्ला विकास समिति अछामका कार्यक्रम अधिकृत खड्ग विष्टले अगाडी भने, ‘प्रकोप जोखिम व्यवस्थापन र स्थानीय जनतामा जलवायुबाट पर्ने प्रभावसंग जुध्नका लागि सचेतना, आर्थिक सशक्तिकरणका लागि वातावरण सुहाउँदो जिविकोपार्जनका क्रियाकलाप र विकासका लागि वातावरणमैत्री संरचनामा जोड् दिइरहेकोले प्रभावकारी छ ।’

जिल्ला विकास समिति बाजुराका स्थानीय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीले त यस कार्यक्रमका असल अभ्यास र योजनाहरुलाई नियमित योजना प्रक्रिया मार्फत जिल्लाको विकासका लागि आँफुले पहल गरिरहेको धारणा राखे । उनले योजना तथा क्रियाकलापलाई वातावरण सुहाउँदो बनाउन सकेमा मात्र विकासलाई दिगो बनाउन सकिन्छ भन्ने मान्यता सबैले आत्मसाथ गर्नै पर्नेमा जोड दिए ।
जिल्ला विकास समिति कैलालीका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले वर्षेनी आउने बाढीले काम नलाग्ने बनाएको बगरमा खेती गर्ने बानीको विकासका लागि यस कार्यक्रमले आम किसानले प्रेरणा दिएको धारणा राखे । ओझाले कैलालीका संकटासन्ना भएका ८ स्थानमा यस कार्यक्रमले जनताको जोखिम बहन गर्ने क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको र तिनको प्रभावकारिताका लागि आफुहरुले पनि सक्दो सहयोग गरिरहेको बताए ।

यो कार्यक्रम बाजुरा जिल्लाका सात स्थान बढीमालिका नगरपालिका र कैलाशमाण्डौ, ब्रह्मतोला, जगन्नाथ, साप्पाटा, कुलदेवमाण्डौ  एवं वाई गाविसमा लागू भएको छ । आर्थिक वर्ष २०७०/७१ देखि लागु भएको यस कार्यक्रमले सुरुको वर्ष ३ करोड ८४ लाख ८९ हजार, आर्थिक वर्ष ०७१/७२ मा ४ करोड ६० लाख ९९ हजार र चालु आर्थिक वर्षमा ४ करोड ८७ लाख २८ हजारको लागतमा विभिन्न क्रियाकलाप कार्यान्यन गरेको छ । त्यस्तै अछाम जिल्लाका ढुंगाचाल्ना, तुर्माखाँद, घोडासैन, भैरबस्थान, नाडा, धमाली, तोसी  र रानीवन गरी ८ वटा गाविसमा लापा क्रियाकलाप सञ्चालन गरिरहेको छ । सो जिल्लामा आर्थिक वर्ष ७०/७१ म ३ करोड ४४ लाख ४० हजार, आर्थिक वर्ष ७१/७२ मा ३ करोड ८० लाख १७ हजार र ७२/७३ मा ४ करोड ८५ लाख २८ हजार गरी गरी १२ करोड ९८ लाख ५ हजार लागतमा विभिन्न योजना तथा क्रियाकलापहरु कार्यान्वयन भएका छन् ।कैलाली जिल्लामा पनि यो कार्यक्रम एक नगरपालिका र साविकका ७ गाविस गरी ८ स्थानमा कार्यान्वयन भइरहेको छ । कैलाली जिल्लामा हाल सम्म  १७ करोड १२ लाख छब्बिस हजार विनियोजन भएकोमा करिब ८ करोड खर्च भएको जिल्ला संयोजक सन्तोष खनालले जानकारी दिए ।

राष्ट्रिय जलवायु अनुकूलन कार्ययोजना (नापा) ले निर्दिष्ट गरे अनुसार सुदूरपश्चिमका ३ र मध्यपश्चिमका ११ गरी १४ जिल्लाका एक सय स्थानमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जनसंख्या तथा वातावरण मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर