newskoseli.Com

गायिका सुनिताले सघाइन् धुर्मुस–सुन्तलीलाई

चर्चित लोकगायिका सुनिता गुरुङको नयाँ एल्बम ‘प्यास’ को विमोचन सिन्धुपाल्चोकको गिरानचौरमा हास्यकलाकार धुर्मुस, लायन्स क्लब अफ काठमाडाैं टेम्पलका चार्टर प्रेसिडेन्ट अरुण श्रेष्ठ र वरिष्ठ इन्जिनियर एवं समाजसेवी सुर्दशन महर्जनले संयुक्त रुपमा गरेका छन् ।

लोकगायिका सुनिताले धुर्मुस–सुन्तलीको अभियानलाई सहयोग गर्न आफनो एल्बम गिरानचौरमा विमोचन गरी ५१ हजार रकम सहयोग गरेकी छन् । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं टेम्पलका पदाधिकारीहरुको सहभागिता रह्यो ।

एल्बमको विमोचन गर्दै धुर्मुसले भने– ‘यसरी पवित्र सोचाइ राखेर यहाँसम्म आएर आफनो एल्बम विमोचन गरी रकम समेत सहयोग गर्नुभएकी सुनिताका गीतहरु लोकप्रिय बनून् ।

तीजगीत ‘नाच्छु म त छमछम’ बाट चर्चामा आएकी गुरुङको यो तेस्रो एल्बम हो । सुनिताको यसअघिको ‘रमाइलो पोखरा’ बोलको लोकगीत दर्शक–श्रोतामाझ चर्चित थियो ।

हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ का चर्चित हास्यकलाकार  सिताराम कट्टेल ‘धुर्मुस’ ले विमोचन गरेको यो ‘प्यास’ एल्बममा पाँच वटा गीत समेटिएका छन् । ‘पानीपानी’ बोलको फरक धारको अत्यन्त कर्णप्रिय गीत यस एल्बममा समेटिएको छ ।

यस गीतमा वरिष्ठ संगीतकार बीबी अनुरागीको संगीत, सुनिता गुरुङ र रामचन्द्र काफ्लेको स्वर तथा शब्द रहेको छ । त्यसैगरी यही एल्बममा बलात्कारविरुद्ध सामाजिक चेतना जगाउने प्रकृतिको ‘म छोरी’ बोलको अर्को अत्यन्तै मार्मिक गीत सुनिताले गाएकी छन् ।

‘आफैं भन’ बोलको सालैजो गीत सुनिता गुरुङ र मौसम गुरुङले गाएका छन् । जुन गीतको संगीत मौसम गुरुङले भरेकी हुन् । अर्को भूकम्पसम्बन्धमा जनचेतनार्थ गीत पनि एल्बममा समेटिएको छ ।

भूकम्पबाट भत्किएका घरहरु पुनर्निर्माणका लागि गत वर्षदेखि लागिपरेका धुर्मुसले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत गिरानचौरमा नमूना एकीकृत वस्ती निर्माण गरिरहेका छन् ।

धुर्मुस–सुन्तलीको सो पवित्र अभियानमा केही न केही राहत तथा उत्प्रेरणा मिलोस् भनेर आफनो नयाँ एल्बम ‘प्यास’ को विमोचन धुर्मुसकै हातबाट गिरानचौरमा गरेको गायिका सुनिता गुरुङले बताइन् ।

एल्बम विमोचन गर्दै सुनिताले धुर्मुसको सो अभियानका लागि ५१ हजार रकम सहयोग गर्दै भनिन्–‘काठमाडौंमा एल्बम विमोचन गर्दा लाग्ने खर्च मैलै जोगाएर धुर्मुसको सामाजिक अभियानमा सहयोग गरेकी हुँ ।’

उनको भनाइ थियो– ‘अरुले पनि काठमाडौंका तारे होटलमा एल्बम विमोचन गरेर भोजभतेरमा पैसा सिध्याउनुको साटो त्यो रकम पीडितको सेवामा खर्च गरुन् ।’

सो अवसरमा लायन्स क्लब अफ काठमाडौं टेम्पलका चार्टर प्रेसिडेन्ट अरुण श्रेष्ठ, महासचिव सुर्दशन मर्हजन र अन्य पदाधिकारीहरुको टोलीले पनि ‘टोकनमनी’ का रुपमा धुर्मुस–सुन्तलीलाई ५१ हजार १ सय ११ रुपयाँ सहयोग गरे । गायिका गुरुङसहितको टोलीले आर्थिक सहयोगका साथसाथै केही घन्टा गिरानचौर वस्ती निर्माणमा श्रमदान समेत गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर