newskoseli.Com

कैदीले प्रहरीमा भर्ना आवेदन दिएपछि पुलिसलाई सास्ती

भारतको हरियाणामा एक कैदीले प्रहरीमा भर्ना हुन आवेदन दिएपछि पुलिस प्रशासनलाई नै सास्ती भएको छ । जीतेन्द्र नाम गरेका युवाले प्रहरीमा भर्नाका लागि आवेदन दिएका थिए ।

यसबीचमै उनी हत्याको कोसिस गरेको आरोपमा एक महिना अघि पक्राउ परे । जेल प्रशासनसँग अनुमति लिएर उनी प्रहरी भर्नाका लागि निर्धारित फिजिकल परीक्षामा सामेल भए ।

एउटा कैदीलाई प्रहरीमा खुला भएको आवेदनमा सामेल गराउनु अघि निकै लामो छलफल भएको थियो । तर जेल प्रशासनले अनुमति दिइसकेका कारण प्रहरीले उनको आवेदन स्वीकार गर्दै परीक्षामा सामेल गराउने निधो गरेको हो ।

समस्या यतिमा मात्र सीमित रहेन । जब पाँच किलोमिटर दौडको पालो आयो, प्रहरीका लागि टाउको दुखाइको विषय बन्यो । सार्वजनिक सडकमा दौड प्रतियोगिता हुने भएकाले उनी भाग्न सक्ने सम्भावनाप्रति पनि प्रहरी सतर्क थियो ।

उनलाई जेलबाट तीन प्रहरीले कडा सुरक्षाका साथ लिएर गए । प्रहरीमा भर्ना हुन आवेदन दिएका एक परीक्षार्थीका लागि तीन सुरक्षाकर्मी, उनलाई परीक्षास्थलसम्म लैजान र ल्याउन सवारी साधनको चाँजो मिलाउनु भारतीय प्रहरीका लागि अनौठो अनुभव थियो ।

उमरी रोडमा पाँच किलोमिटर दौड पुरा गर्नुपर्ने भएपछि प्रहरीले उनको हातमा लगाएको हतकडी खोलिदियो । तर उनलाई कडा शर्त राखियो । भाग्ने कोसिस गरेमा गोलीसमेत प्रहार गर्नसक्ने चेतावनी दिदैं उनलाई प्रहरीले दौडमा सामेल गरायो ।

जीतेन्द्रले पाँच किलोमिटरको दुरी २३ मिनेटमा पुरा गरे । योसँगै उनी अर्को चरणका लागि छानिएका छन् ।

अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई भारतको संविधानअनुसार सरकारी सेवामा अयोग्य मानिन्छ । तर जीतेन्द्रको मुद्दा अदालतमा विचाराधीन रहेका कारण उनलाई प्रहरी भर्नामा आवेदन दिन योग्य मानिएको हो ।

आरोप प्रमाणित भएमा उनी ‘अयोग्य’ ठहरिनेछन् । अदालतबाट मुद्दा फैसला नहुन्जेलसम्म भने उनलाई परीक्षामा सामेल गराइने भएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर