newskoseli.Com

चीन–भारत सीमामा भारतीय २० सैनिकको मृत्यु : दुवै सेनाद्वारा हताहती पुष्टि

फाइल तस्बिर

चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० जनाको मृत्यु भएको छ ।

मंगलबार राति अबेर भारतीय सेनाले आधिकारिक बयान जारी गर्दै भन्यो– ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेका छन् । १५–१६ जुनको राति यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो । झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीररुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’

यसअघि भारतीय सेनाले आफ्नो बयानमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो । दुई देशबीच तनाव कम गर्नका लागि दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरूले छलफल गरिरहेको पनि सो बयानमा बताइएको थियो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने पिपल्स लिबरेसन आर्मी (पीएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पीएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । भारतले निकै कडारुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने उक्त बयानमा चांगले बताएका छन् ।

चांगले भनेका छन्– ‘भारतीय सैनिकले आफ्नो वचन उल्लंघन गरेका छन् र एक पटक पुनः एलएसी पार गरेका छन् । जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे, जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसै कारण हताहतको स्थिति बन्यो । आफ्ना सैनिकलाई रोक्न भारतले कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु ।’

यसअघि सन् १९७५ मा अर्थात् ४५ वर्षअघि भारत–चीन सीमामा सैनिकको मृत्यु भएको थियो । त्यसयता किचलो कायम रहे पनि यसै कारण दुई देशमध्ये कसैका पनि सैनिक–गैरसैनिक नागरिकको ज्यान गएको थिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर