newskoseli.Com

सौर्य पम्पबाट माछापालन सुविधा

माछापालनका लागि पोखरीमा पानी भर्न डिजेल पम्प चलाउनु पर्दा चर्को मूल्य व्यहोर्नुपर्ने समस्यामा रहेका किसानलाई सौर्य पम्पबाट निकै राहत मिलेको छ ।

हप्तामा दुई÷तीनपटक डिजेल पम्प चलाउँदा रु चार÷पाँच सय खर्च हुने गरेकामा अहिले सौर्य पम्प जडानपछि हरेक दिन पोखरीमा पानी भर्न सजिलो भएको चितवन खैरहनिया नपा–७ मर्जी गाउँका किसान बताउँछन् ।

एकचोटी पम्प चलाउन एक लिटर डिजेल खपत हुने र त्यो पनि पाउन मुस्किल हुँदा माछापालनमा समस्या आएको बताउँदै स्थानीय भुण्डी चौधरी भन्छन्– ‘अहिले सोलार पम्प राखेपछि ढुक्क भएको छ ।’ पोखरीमा बढी भएको पानी तरकारी बारीमा लगाएर वैमौसमी तरकारी उत्पादन गरी राम्रै आम्दानी गर्नसमेत सकेको उनी बताउँछन् ।

तीन जनाको सामूहिक लगानीमा गत पुस महिनामा सौर्य पम्प जडान गरेपछि तीनवटा पोखरीमा पानी भर्न र तरकारीबारीमा पानी लगाउन सजिलो भएको छ । पम्पबाट दैनिक ३० हजार लिटर पानी तान्छ ।

सोलारबाट बत्ती बाल्न सकिने त थाहा थियो तर यसरी पानी तानेर सिँचाइमा उगाउन सकिएको देख्दा आफूलाई आश्चर्य लागेको बताउँदै स्थानीय जोखाराम चौधरी भन्छन्– ‘सोलार त किसानका लागि बरदान नै रहेछ ।’

वर्षमा एउटा पोखरीबाट अढाइ क्विन्टलसम्म माछा उत्पादन गरी बिक्री गर्दछन् । व्यापारीे पोखरीमै आएर प्रतिकिलो रु ३०० का दरले माछा खरिद गर्ने भएकाले बजारको समस्या नभएको सुन्दरदीप महिला माछापालन कृषि सहकारी संस्थाका अध्यक्ष शान्ति चौधरीले बताए ।

यस समूहमा आबद्ध २५ जना महिलाले व्यावसायिक माछापालन गरेका छन् ।

पम्प राख्न करिब ३ लाख ५७ हजार ७५० खर्च भएकामा विनरक इन्टरनेसनलको रु ६० हजार अनुदान र किसानले रु ४० हजार लगानी गरेका थिए । नपुग रकम सनफार्मर नामक संस्थाको वित्तीय ढाँचाअनुसार किसानले तीन वर्षको किस्तामा मासिक छ हजार २२५ का दरले चुक्ता गर्नेछन् ।

सौर्य पम्पबाट सुलभ ढङ्गमा सिँचाइ गर्न सनफार्मरको यसखालको वित्तीय ढाँचालाई बजारीकरण गर्न सकिएमा साना किसानले लाभ लिनसक्ने विनरककी सोलार पम्पिङ परियोजना प्रबन्धक रेशा पिया बताउँछिन । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर