newskoseli.Com

माया र एचएचसीएलाई बास्केटबल उपाधि

माया एकेडेमी र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसिए) ले तेस्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमी कभर्ड हलमा आज भएको फाइनल स्पर्धामा माया छात्र र एचएचसिए छात्रामा च्याम्पियन बने । साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको छात्र फाइनलमा मायाले स्पोर्टस जोनलाई १८–१५ ले पराजित ग¥यो । मायाका जितमा दिवस अधिकारीले ७ अङ्क योगदान गरे । छात्रा फाइनलमा एचएचसिएले गोल्डेन स्ट्रिट वारियरलाई १६–१० ले हरायो । विजेताकी सुशीला तामाङले ६ अङ्क जोडिन् । छात्रमा सिसीआरसीले गोल्फुटारलाई १५–१४ को साँघुरो अन्तरले पाखा लगाउँदै तेस्रो भयो । छात्रामा श्रीदिवाले तेस्रो स्थानमा चित्त बुझायो । श्रीदिवाले हेम्सको चुनौती १६–८ ले पन्छायो ।

प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र सुशीला ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवैले साइपालमा दश जोड दुई अध्ययनका लागि समान रु ८०÷८० हजार बराबरको छात्रवृत्ति पुरस्कारस्वरुप प्राप्त गरे । विजेतालाई नेपाल बास्केटबल सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, साइपालका प्रअ सुमन नगरकोटी, रेफ्री संयोजक निरञ्जन सत्याल लगायतले पुरस्कार वितरण गर्नुभयो । चारदिने प्रतियोगितामा ७५ विद्यालयका १२० टोलीले सहभागिता जनाएका थिए ।

सुटिङमा सोनिक र आयुष्मा

सोनिक भण्डारी र आयुष्मा केसी काठमाडौँ उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगितामा उत्कृष्ट घोषित भएका छन् । तक्षशिला स्कुलका सोनिक छात्र र आयुष्मा छात्रातर्फ उत्कृष्ट भएका हुन् । दुवैले सर्वाधिक समान १३–१३ बुल प्रहार गरे ।

स्पोर्टस फर अल कमिसन तथा नेपाल सुटिङ सङ्घद्वारा आयोजित प्रतियोगिता अन्तर्गत व्यक्तिगत स्पर्धाको छात्रमा सोनिक पहिलो भए । उनले १९३ अङ्क जोडे । कान्तिपुरी स्कुलका रुपक पाठक दोस्रो र सक्षम कार्की तेस्रो भए । सोही स्पर्धाको छात्रामा कान्तिपुरीकी सुस्मिता नेपाल १९३ अङ्कका साथ पहिलो भइन् । तक्षशिलाकी आयुष्मा दोस्रो र सैनिक आवासीय महाविद्यालयकी सिमरन थापा तेस्रो बने । व्यक्तिगत स्पर्धा २०० पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको छात्र टिम इभेन्टमा कान्तिपुरी ५६८ अङ्कमा पहिलो भयो । सैनिक दोस्रो र तक्षशिला तेस्रो भए । त्यस स्पर्धाको छात्रामा ५६५ अङ्क जोडेको सैनिक पहिलो स्थानमा रह्यो । तक्षशिला दोस्रो र कान्तिपुरी तेस्रो भए । टिम स्पर्धा ६०० पूर्णाङ्कको थियो । विजेतालाई राखेपका उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा १६ छात्र र १३ छात्राले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

‘ओलम्पिक डे’ बास्केटबल उपाधि ग्यालेक्सीलाई

ओलम्पिक कमिटीले ‘ओलम्पिक डे २०१६’ मनाउने क्रममा आयोजना गरेको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्यालेक्सी पब्लिक स्कुलले जितेको छ । ग्यालेक्सी र स्पोर्टस फर नेपाल संस्थासँगको सहकार्यमा भएको दुईदिने प्रतियोगितामा काठमाडौँ उपत्यकाका ११ विद्यालयको सहभागिता थियो । समान चार स्वर्ण, रजत र कास्य गरी १२ पदकका लागि आज आफ्नै गृहमैदानमा भएको भिडन्तमा सबैलाई पछि पार्दै ग्यालेक्सी ‘टिम च्याम्पियन’ भएको हो । उसले दुई दुई स्वर्ण र रजत तथा चार कास्य प्राप्त गर्दै उपाधि जितेको हो । चार विधामा भएको स्पर्धामा डिएभी स्कुलका प्रद्युम्न सिंहले १५ वर्षमुनि (यु–१५) छात्रतर्फ स्वर्ण हात पारे ।

त्यस्तै सोही उमेर समूहको छात्रातर्फ ग्यालेक्सीकी पुनम भण्डारीले स्वर्णमाथि कब्जा जमाइन् । त्यसैगरी यु–१३ तर्फको छात्रमा ग्यालेक्सीका विजेन राई र छात्रामा आइडियल स्कुलकी रसिला महर्जनले स्वर्ण हात पारे । विजेतालाई नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर