डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसदमा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् ।
सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खालि गर्न सकारात्मक देखिएका थिए । उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए । तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन् ।
पछिल्लो समय बुढाले राजीनामा दिनैपरे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले बताए । त्यतिखेरसम्म पार्टी कमिटीसँगै जनवर्गीय संगठनको पनि एकता भइसक्ने भएकाले निर्वाचन जित्न सजिलो हुने उनको तर्क छ । ७ देखि १४ भदौसम्म जिल्ला घुमेका बुढाले मतदातासँग साक्षात्कार गर्दै भदौ दोस्रो साता सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरेका थिए ।
तर, मतदाताले उनलाई राजीनामा नदिन दबाब दिए । काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । बुढाले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की उनीहरूले दिएपछि उनी पछि हटे । सांसद बुढाले डोल्पामा त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका क्षेत्रका कार्यकर्तासँग धेरै छलफल गरे ।
माथिल्लो डोल्पाका आफ्ना पार्टीनिकट जनप्रतिनिधिलाई दुनैमा बोलाएर छलफल गरे । दुई नगरपालिकाका धेरै मतदाता भएको क्षेत्रमै पुगेर अन्तक्र्रिया गरे । दुवै नगरपालिकाका प्रमुख तत्कालीन एमालेबाट विजयी भएकाले बुढाले माहोल बनाउन बल गरेका थिए । तर, मतदाताले राजीनामा नदिन सुझाव दिएको खबर वीरेन्द्र ओली/योगेश ढकालको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।