साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेका ३१ नेपाली महिलाको उद्धार गरियो ।
महिला अधिकारका लागि भारतमा सक्रिय संस्थाले उनीहरुलाई उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहिता पनि थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्याएका थिए । अध्यागमन विभागले रोकतोक गर्ने सम्भावनालाई ध्यानमा राखेर पतिहरु साथै गई आ–आफ्ना पत्नीहरुलाई दिल्ली पुर्याएर फर्किएका थिए ।
कुबेत इजरायल, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्धारप्रति असन्तुस्ट थिए । ती महिलामध्ये ८ जना त नेपाल आउनै मानेन् भने नेपाल आएकामध्ये पनि अधिकांशले प्रहरीसँग असन्तुष्टि पोखे ।
महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन् । मासिक ३० हजारभन्दा माथि आम्दानी हुने सामान्य जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।