बाँझोपन र निःसन्तान हुने समस्याका कारण नेपालमा पनि कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको छ ।
विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आर्इभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ ।
ढिलो विवाह र ढिलो गर्भाधान प्रक्रिया अपनाइँदा तथा बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपनको समस्या बढ्दो छ । यसरी बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ ।
बाँझोपनको समस्या हटाउन वा कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा राखेर करिव ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।
यस्ता सेवा दिने ठाउँ सीमित भएका कारण यो सेवा निकै खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन् । निःसन्तान हुनुका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् ।
थापाथलीस्थित प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण कृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।